

महेन्द्रनगर । बैजनाथ माध्यमिक विद्यालयका विद्यार्थीहरुले अञ्चल अनाथ समाज कल्याण बाल अनाथालयका बालबालिकालाई खिर खुवाएका छन् ।
बिहीबार साउन १५ को खिर खुवाउने दिन विद्यार्थीहरुले बालबालिकालाई अनाथालयमा खिर पकाएर खुवाएका हुन् । बैजाथ माविको अंग्रेजी माध्यम कक्षा १० का विद्यार्थीले बिहीबार साँझ बालबालिकलाई खिर खुवाए ।

विद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट अनाथलयका बालबालिकालाई खिर खुवाएका छन् । अनाथालयमा खिर, पुरी, तरकारी लगायत परिकार पकाईको हो । विद्यार्थीहरु दिउँसो अनाथालय आएर खिर लगायतका परिकार पकाएका हुन् ।
अनाथालयमा २२ छात्र छन् । उनीहरु बैजनाथ सहित सदरमुकामका विभिन्न विद्यालयमा पढ्दै आएका छन् ।
बैजनाथकी कक्षा १० की छात्रा आयुशा खनालले एक दिनको खाजा खर्च जोगाएर अनाथालयमा खिर खुवाएको बताइन् । ‘हामी सबै साथीहरुले एक दिनको खाजा खर्च बचाएर आज यहाँ अनाथालयमा आएर खिर खुवायौ’ खनालले भनिन् ।


विद्यार्थीहरुको खिर खुवाउने कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक तपेन्द्र प्रसाद भट्ट, अंग्रेजी माध्यमका संयोजक परमेश्वरी खत्री लगायत शिक्षक, कर्मचारी सहभागी भए ।
विद्यालयका सहायक प्रधानाध्यापक भट्टले विद्यार्थीहरुले अनाथालयमा आएर खिर खुवाउन सरहानीय कार्य भएको बताए ।
बैजनाथमा अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुने गरेको छ । बैजनाथ कञ्चनपुरको सबैभन्दा पूरानो विद्यालय हो ।



