

महेन्द्रनगर । ईन्टरनेशनल पब्लिक स्कुलले विद्यालयमा हेल्थ क्याम्प सञ्चालन गरेको छ । विद्यालयले विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको समग्र स्वास्थ्यलाई ध्यानमा राख्दै नियमित रूपमा विभिन्न स्वास्थ्य शिविर समेत आयोजना गर्दै आएकोमा त्यसलाई निरन्तरता दिएर डेन्टल हेल्थ क्याम्प राखिएको छ ।
डेन्टल क्याम्पमा डा. रोशन भट्ट, डा. सुदीप भण्डारी, डा. मुना जोशी र डेन्टल हाइजेनिस्ट दिपा बिष्टको टोलीले १ सय ३३ जनाको निःशुल्क दन्त परीक्षण गरेका थिए ।


तीमध्ये ५५ जना महिला र ७८ जना पुरुष सहभागी रहेको विद्यालयले जनाएको छ । चिकित्सकहरूका अनुसार केही सेवाग्राहीमा गम्भीर दन्त समस्या देखिएको थियो, जसको मुख्य कारण दन्त स्वच्छताप्रति लापरबाही र चेतनाको अभाव रहेको पाइएको छ ।

विद्यालयका सिनियर शिक्षक गौरव थापाका अनुसार यस्ता शिविरहरू सञ्चालनमा आफ्नै विद्यालयबाट एसईई पास गरेका र हाल चिकित्सकका रूपमा कार्यरत पूर्व विद्यार्थीहरूको महत्त्वपूर्ण सहयोग रहेको छ । उनका अनुसार हालसम्म करिब एक सय पूर्वविद्यार्थी चिकित्सक बनिसकेका छन् ।

