

महेन्द्रनगर । बेलडाँडी गाउँपालिका २ की १७ वर्षीया सम्झना भट्टले घरमै झुण्डिएर आत्महत्या गरेको घटनामा उनका श्रीमानकी दिदी अर्थात सासु पूजा भट्ट पक्राउ परेकी छन् । सम्झनाका आफन्तले आत्महत्या दुरुत्साहनमा पूजा सहित चार जना विरुद्ध किटानी जाहेरी दिएकोमा अन्यलाई यस अघि पक्राउ गरिएको थियो ।
सम्झनाका आफन्तले उनको आत्महत्यामा पूजालाई घटनाको मुख्य योजनाकार बताउँदै आएका छन् । उनीहरुले पूजाको अडियो रेकर्ड समेत प्रहरीलाई उपलब्ध गराएको दाबी गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुुसार पूजालाइृ कैलालीको धनगढी विमानस्थलबाट पक्राउ गरिएको हो । उनी काठमार्डौंमा भएकाले पक्राउ गर्न कञ्चनपुर प्रहरीले समन्य गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहेराले पूजालाई नियन्त्रणमा लिइएको बताए । सम्झनाका आफन्तले उनलाई काठमाडांंैमा सशस्त्र प्रहरीका डिएसपी सरोज भट्टले काठमाडौंमा आफ्नो घरमा लुकाएर राखेको आरोप लगाउँदै आएका थिए ।

मृतकका माइती पक्षले प्रहरीसमक्ष बुझाएको एक अडियोमा सम्झनाको हत्या गर्न पूजाले पवनलाई सुझाव दिएको डीएसपी बोहराले बताए । सम्झनाका माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा यसअघि मृतकका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट, सासू किरण भट्टलाई यसअघि नै नियन्त्रणमा लिइएको थियो ।
पक्राउ परेकाहरुलाई कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । बोहराका अनुसार पूजालाइ नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन नहुने कर्तब्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ ।
पूजा पक्राउ परेपछि सम्झनाको अन्तिम संस्कार गरिएको छ । उनको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको थियो ।
घटनामा संलग्न रहेको आशङ्कामा मृतकका माइती पक्षले चार जनामाथि किटानी जाहेरी दिए पनि प्रहरीले पूजालाई पक्राउ गरेको थिएन ।
साउन १८ गते बिहान बेलडाँडी गाउँपालिका–२ स्थित सिंहपाल टोलमा घरभित्र झुण्डिएको अवस्थामा सम्झना मृत फेला परेकी थिइन् ।
सम्झना र पवनले गत फागुनमा प्रेम विवाह गरेका थिए । विवाहपछि सम्झनाका श्रीमान् र उनका परिवारका सदस्यले दाइजोको निहुँमा यातना दिने, घरेलु हिंसा गर्ने र मानसिक तनाव दिने गरेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ ।

