

महेन्द्रनगर । हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको परिवारले नेपाल सरकारले रिहाइका लागि खाडी मुलुकका सरकार प्रमुखसँग प्रत्यक्ष भेटवार्ता गर्नु पर्ने माग गरेको छ ।
हालै १० दिने इजरायल भ्रमण सकेर फर्किएको परिवारले नेपाल सरकारले पठाएको सन्देश हमाससम्म पुग्ने विषयमा शङ्का व्यक्त गरेको छ ।


कान्तिपुर टेलिभिजनको न्युजटकमा पत्रकार विकास आचार्यसँग कुराकानी गर्दै विपिनकी आमा पद्मा जोशीले कतार, जोर्डन, इजिप्ट लगायत मुलुकका सर्वोच्च नेतृत्वसँग गम्भीर छलफल गर्न सके मात्र छोरा मुक्त हुने विश्वास व्यक्त गरिन् ।
“फोन र पत्रमार्फत पठाइएका सन्देश हमाससम्म नै नपुगेको हुन सक्छ । त्यसैले प्रधानमन्त्री र परराष्ट्र मन्त्री आफैँ भेटवार्तामा जानु पर्छ,” पद्मा जोशीको भनाइ छ ।
त्यसै गरी, इजरायल भ्रमणका क्रममा राष्ट्रपति र उच्च अधिकारीहरूसँग भेट भएको र भेटमा विपिनको विषय गम्भीर रूपमा उठाइएको बहिनी पुष्पा जोशीले बताइन् । विपिनको तत्काल रिहाइका लागि थप ठोस पहल आवश्यक रहेकोमा उनले जोड दिइन् ।
पद्मा र पुष्पा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई भेटेर इजरायल भ्रमण तथा भएका भेटवार्ताबारे विस्तृत जानकारी दिने तयारीमा छन् ।

