

महेन्द्रनगर । महाकाली साहित्य संगमले यस वर्ष पनि गौरा महोत्सव मनाउने भएको छ । आगामी भाद्र १२ गतेदेखि महेन्द्रनगरको खुलामञ्चमा महोत्सव सुरु हुने आयोजकले जनाएको छ ।
शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै संगमका अध्यक्ष हरिश प्रसाद जोशीले सम्पदा संरक्षण र सांस्कृतिक गौरवलाई उच्च राख्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको बताए ।
उनका अनुसार, २०४७ सालमा स्थापना भएको साहित्य संगमले २०५० सालदेखि निरन्तर रुपमा गौरा महोत्सव मनाउँदै आएको छ ।

यस वर्षको महोत्सवमा परम्परागत डेउडा नृत्य, गिती कथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन लगायत विविध कार्यक्रम समावेश हुने छन् ।
कार्यक्रमका वरिष्ठ उपाध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले भने नेपाली मौलिक संस्कृति आक्रमणमा परेको दाबी गर्दै यसको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
‘हाम्रो संस्कृतिमाथि आक्रमण भइरहेको छ, मूल स्वरुप समाप्त हुनेतर्फ अग्रसर छ । त्यसैले सांस्कृतिक सम्पदा जोगाउँदै गौरव बढाउने हेतुले महोत्सव आयोजना गर्न लागिएको हो,’ उनले भने ।
सुदूरपश्चिमको समृद्ध लोकसंस्कृति अझै घरभित्र मात्र सीमित रहेको उल्लेख गर्दै रावलले यसलाई समाजमा सकारात्मक रुपमा प्रस्तुत गर्नुपर्ने बताए ।
‘हामीलाई छाउपडी र देउकी प्रथा मात्र मान्ने ठाउँका मानिस भनेर चिन्छन् । तर, दिदीबहिनी भेट्ने र एकता मिलनलाई पर्वका रुपमा मनाउने परम्परा हाम्रो गौरव हो। यसलाई स्थापित गर्न सकेनौं भने हाम्रो मौलिकता हराउने खतरा छ,’ रावलले थपे ।
