
शिक्षा विधेयक विरुद्ध आन्दोलनमा सत्तारुढ दलले दिए साथ, विधेयकका विवादित प्रावधान सच्याउनु पर्नेमा जोड


महेन्द्रनगर । सत्तारुढ काँग्रेस र एमालेका युवा नेताले विद्यालय शिक्षा विधेयक समावेश केही प्रावधान खारेजीका लागि निजी विद्यालयका संगठनले सुरु गरेको आन्दोलनमा साथ हुने बताएका छन् ।
काँग्रेस कञ्चनपुरका उप सभापति मिन बहादुर सिह र एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले संस्थागत विद्यालयले शैक्षिक क्षेत्रमा पुगाएको योगदानको अवमूल्यन हुने गरी कुनै पनि किसिमको व्यवस्था हुन पर्ने बताए ।

प्याब्सन, एन प्याब्सन, हिसान लगात निजी विद्यालयका संगठनले बुधबार आयोजना गरेको बृहत अन्र्तक्रिया कार्यक्रममा उनीहरुले विद्यालय शिक्षा विधेयकका विवादित प्रावधान संशोधनका लागि आफूहरुको साथ सहयोग हुने बताएका हुन् ।
काँग्रेस उप सभापति सिहले काँग्रेस नेतृत्वको सरकारले नै सबैभन्दा पहिला निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी नीति ल्याएपछि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा फड्को मारिएको र काँग्रेस निजी क्षेत्र विना देश विकास गर्न नसक्ने भन्ने विश्वस्त रहेको उल्लेख गरे ।
उनले विधेयकका विषयमा आफूले पार्टीको शिक्षा विभाग हेर्ने संयोजक नयन सिह महरा र प्रंमुख सचेतक श्याम घिमिरेसित कुराकानी गरी जानकारी लिएको र वहाँहरुबाट विधेयक सम्बन्धि पार्टीको धारण माग गरेको बताए ।
‘वहाँहरुले स्पष्ट रुपमा भन्नु भएको छ, हामी यो विधेयकको पक्षमा छैनौ पारित गर्ने पक्षमा छैनौ भन्नु भएको छ’ उनले भने ।
उनले समितिमा आफूलाई धेरै जान्ने, जान्नेलाई छान्ने भन्नेहरुका कारण विधेयकमा यस्तो व्यवस्था गरिएकाले सबैको ध्यान जानु पर्ने सिहले बताए ।
उप सपभाति सिहले समितिमा केही सदस्यलाई लिएर दृष्टिविहीनले हात्तीलाई छामेको कथा सुनाउँदै त्यसरी विधेयकमा त्यस्ता प्रावधान समावेश गरिएको कटाक्ष गरे ।
सरोकारवालासित छलफल नगरी उनीहरुको कुरा नसुनेर विधेयक बनाएकाले पास हुनै नसक्ने उप सभापति सिहले दाबी गरे । ‘कसका लागि बनाउने, अमुक व्यक्तिका मुख हेरेर बनाउनलेले राज्य सञ्चालन गर्न सक्दैन’ उनले भने ।
विधेयकले शिक्षा क्षेत्रमा परिवर्तन गर्ने नभई तहसनहस गर्ने उल्लेख गर्दै उनले यस विधेयकमा कोही पनि सन्तुष्ट नभएको बताए ।
विधेयकलाई दिएर सामुदायिक शिक्षकहरु असन्तुष्ट भएर लामो समयदेखि आन्दोलनमा भएको उनले बताए ।

उप सभापति सिहले आफूले व्यक्तिगत रुपमा मात्रै नभएर काँग्रेस कञ्चनपुरका तर्फबाट निजी विद्यालयको आन्दोलनमा ऐक्यवद्धता भएको उल्लेख गरे ।
एमाले कञ्चनपुरका उपाध्यक्ष अवस्थीले आफूले १० वर्ष विद्यार्थी आन्दोलनको नेतृत्व गरी नेपालको शैक्षिक क्षेत्रको अध्ययन अवस्था हेर्ने र बुझ्ने मौका पाएको बताए ।
कृषि पेशालाई आधुनिकीकरण, व्यवसायीकरण र सक्षम बनाउन नसकेसम्म देश विकास र समृद्धिमा जान नसक्ने उपाध्यक्ष अवस्थीको भनाई थियो ।
उपाध्यक्ष अवस्थीले कम्पनीमा दर्ता गरी नाफा नकमाउने कुरा खेतमा मल हाल, सिँचाई पनि गर, श्रम पनि गर, बिउ पनि छर तर अन्तिममा बाली काट्न पाउँदैनौ भन्ने जस्तै हो मुर्खतापूर्ण कार्य भएको बताए ।
राज्यले गुठीमा दर्ता भएका संघ संस्थाहरुमा लगानी गरी राजनीति गरि रहेको र कम्पनीमा दर्ता भएकाले नाफा नकमाउन भन्ने कुरा विश्वास गर्न लायक नभएको उनले बताए ।
उपाध्यक्ष अवस्थीले राजनीति शुद्ध हुनु पर्ने, राजनीतिमा सभ्य मान्छे आउनु पर्ने र स्वच्छ मान्छे आउनु पर्ने आफूले मान्यता राख्ने गरेको बताए ।
‘तर त्यस्तो मान्छे निर्वाचनमा उठ्यो भने भोट नै दिदैन, नदिने जमात पनि छ, हामी के भन्छौ भने जबसम्म राजनीति शुद्ध हुँदैन, राजनीतिमा स्थिरत आउँदैन, तबसम्म राज्यका संयन्त्रहरुबाट आशा गर्न खाली मुर्खता मात्रै हो, भन्ने कुरा मलाई लाग्छ’ उनले भने ।
कम्पनी भनेको लगानी गर्ने र नाफा कमाउने भन्ने भएको उल्लेख गर्दै उनले विधेयकमा नाफा कमाउनु हुँदैन भन्ने बाक्यांश राखिएको छ भने राज्यले सच्याउनु पर्नेमा जोड दिए ।
समितिमा व्यक्तिको प्रभावले विधेयकमा यो प्रावधान आएको त्यसमा छलफल गरी हल गर्न सकिनेमा कुनै समस्या नहुने अवस्थीले बताए ।
‘योृ कुरा राख्नु नहुने, राखिएको छ भने यसमा करेक्सनका लागि सहयोग हुन्छ, हामी हाम्रो पार्टीबाट यसमा ऐक्यवद्धता जनाउन चाहन्छौ’ उनले भने ।
उपाध्यक्ष अवस्थीले नाफा कमाई सकेपछि छात्रबृत्ति दिनु पर्ने भन्ने कुरा त्यति ठूलो नभए पनि कम्पनीमा दर्ता गरी नाफा कमाउन हुँदैन भन्ने अमिल्दो भएको उल्लेख गरे ।
कार्यक्रममा सुदूरपश्चिम नीति तथा योजना आयोग सदस्य डा. हिरा चन्द, भीमदत्त नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सुशिल कुमार भट्ट, नेपाल शिक्षक महासंघका केन्द्रीय सचिव बिर्ख बहादुर मल्ल, राहत शिक्षक संघर्ष समितिका केन्द्रीय अध्यक्ष नविन सिह धामी, वरिष्ठ समाजसेवी लिलाध्वज वस्नेत, धुमपान निषेधका अभियन्ता मदन बहादुर चन्द, नेपाल शिक्षक महासंघ कञ्चनपुरका सचिव जगदीश प्रसाद जोशी, नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष उत्तम विष्ट , कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी लगायतले मन्तव्य राखे ।
प्याब्सन कञ्चनपुर अध्यक्ष महादेब भट्ट र एन प्याब्सन कञ्चनपुर अध्यक्ष सत्येश बहादुर चन्दले कार्यक्रममा अध्यक्षता गरे ।
प्याब्सन अध्यक्ष भट्टले स्वागत र एन प्याब्सनका चन्दले कार्यक्रम समापन गरे ।
