

महेन्द्रनगर । एमाले कञ्चनपुरले बुधबारदेखि ११ औं महाधिवेशनका प्रतिनिधि चयन प्रक्रिया अघि बढाउने भएको छ । एमाले पार्टी कार्यालयमा सोमबार बसेको सचिवालय बैठकले बुधबारदेखि तीन निर्वाचन क्षेत्र र दलित क्लष्टरका प्रतिनिधि चयन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
सचिवालय बैठकले प्रतिनिधि चयनका लागि सबै क्षेत्रमा निर्वाचन समिति बनाएको छ । समितिले बुधबारदेखि प्रतिनिधि चयन प्रक्रियाअघि बढाउन प्रक्रिया सुरु गर्न लागेको छ ।

सचिवालयले बैठकले प्रतिनिधि चयनका लागि चार ओटै क्षेत्रमा निर्वाचन अधिकृत तोकेको छ । निर्वाचन अधिकृतलाई आवश्यकता अनुसार सदस्य थप गर्न सक्ने छन् ।
एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थीले निर्वाचन अधिकृतले बुधबारदेखि प्रतिनिधि चयन प्रक्रिया अघि बढाउने जानकारी दिए ।

‘सचिवालय बैठकले तीन ओटै निर्वाचन क्षेत्र र दलित क्mष्टरका प्रतिनिधि छान्न निर्वाचन अधिकृत तोकेको छ, निर्वाचन अधिकृतले आवश्यकता अनुसार सदस्य थप्न पाउने छन्’ उनले भने,‘बुधबारदेखि मतदाता नामावली सार्वजनिक, उम्मेदवारी दर्ता लगायतका कार्य बुधबारदेखि सुरु हुने छन् ।’
सचिवालय बैठकले निर्वाचन अधिकृतसंगै निर्वाचन केन्द्र पनि तोकेको छ । निर्वाचन क्षेत्र नं. ३ मा अर्जुन कार्की, २ मा चुडामणी कलौनी, १ मा विपी उपाध्यय र दलित क्लस्टरमा के सुनारलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
कञ्चनपुरबाट १६ जना महाधिवेशन प्रतिनिधि निर्वाचिन हुने छन् । बुधबारदेखि प्रक्रिया सुरु भएर मंसिर १३ गते महाधिवेशन प्रतिनिधि चयन हुने भएका छन् ।
निर्वाचित प्रतिनिधिले मंसिर अन्तिम साता काठमाडौंमा हुने ११ औं महाधिवेशनमा भाग लिन पाउने छन् । कञ्चनपुरबाट निर्वाचन क्षेत्र नं. २ र १ बाट सबैभन्दा बढी ५÷५ जना प्रतिनिधि सहभागी हुने छन् । यसैगरी निर्वाचन क्षेत्र नं. ३ बाट ४ र २ दलित प्रतिनिधि महाधिवेशनका लागि निर्वाचित हुने छन् ।
एमाले पार्टी कार्यालयमा केही दिन अघि बसेको परामर्श बैठकमा सबै क्षेत्रबाट सर्वसम्मत प्रतिनिधि चयनमा जोड दिइएको थियो । प्रतिनिधि चयनमा सहमति नभए निर्वाचनबाट छनोट गरिने नेचाहरु बताउँछन् ।

