

महेन्द्रनगर । सहमति हुन नसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को भीमदत्त नगर समितिका अध्यक्ष र सचिवका लागि मतदान हुने भएको छ ।
कञ्चनपुर उद्योग बाणिज्य संघमा शनिबार रास्वपाको नगर अधिवेशन सुरु भएको हो । अधिवेशन उद्घाटनपछि सुरु बन्द सत्रबाट नगर समिति चयन प्रक्रिया थालिएको थियो ।

अध्यक्ष र सचिवमा एक भन्दा बढी नेता आकाँक्षी भएपछि साँझसम्म सहमतिको प्रयास गरिएको थियो । सहमति जुट्न नसकेपछि आइतबार अध्यक्ष र सचिवका लागि मतदान हुने भएको हो ।

अध्यक्षमा निवर्तमान नगर अध्यक्ष अम्बादत्त जोशी सहित दिनेश भट्ट, विरेन्द्र तिवारी र योगेश शाही आकाँक्षी छन् । यसैगरी सचिवमा आकाँक्षीबीच सहमति हुन सकेन ।
अध्यक्ष र सचिव बाहेक अन्य सबै पदाधिकारी र सदस्यमा सर्वसम्मत भएका छन् । उनीहरुलाई शनिबार साँझ पद तथा गोपनियताको शपथ खुवाइएको छ ।
भीमदत्त नगर अध्यक्षका आकाँक्षी तिवारीले सहमतिका लागि गरिएको प्रयास सार्थक नभएपछि मतदानमा जाने घोषणा गरिएको बताए ।
मतदान ऐठपुरस्थित पार्टी कार्यालयमा हुनेछ । नगर अधिवेशन नेता दिल बहादुर विष्टले उद्घाटन गरेका थिए ।

