

महेन्द्रनगर । सुुदूरपश्चिम सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापाले एमाले ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले कञ्चनपुरका पूर्व अध्यक्ष थापाले सोमबार सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । उनी २०७९ को आम निर्वाचनबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

मन्त्री थापाले सामाजिक सञ्जालमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको जानकारी गराउँदै सबैको साथ र सहयोगका अपेक्षा व्यक्त गरेका छन् ।

थापा एमाले माओवादी केन्द्रको एकतापछि बनेको तत्कालिन नेकपा कञ्चनपुरको संयोजक हुँदै जिल्ला अध्यक्ष भएका हुन् । नेकपा माओवादीको सशस्त्र जनयुद्धमा भूमिगत भएका शिक्षण पृष्ठभूमिका थापा सर्वोच्च अदालतको आदेशले नेकपा बदरपछि एमालेमै रहेर जिल्ला अध्यक्ष भएका थिए ।
सशस्त्र जनयुद्धका क्रममा जेल परेका उनी कञ्चनपुर कारागारबाट सुरुङ्ग खनेर निकिस्एका माओवादी नेता कार्यकर्तामा थापा पनि थिए ।
२०७९ को निर्वाचनमा उनी तत्कालिन माओवादी र काँग्रेस गठबन्धन हराउँदै प्रदेश साँसद निर्वाचित भएका थिए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट अत्यधिक मत पाएर थापा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । मन्त्री थापा पुनर्वास नगरपालिकाका वासिन्दा हुन् ।

