

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको पुस १९ गते हुने १८ औं कार्य समिति निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।
निर्वाचन समितिले मंगलबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम अनुसार पुस १२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

संघले निर्वाचनका लागि वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्दको नेतृवमा निर्वाचन समिति बनाएको छ । समितिमा अधिवक्ताद्वय प्रकाशराज पाठक र एकराज भट्ट सदस्य छन् ।

संघको नयाँ कार्य समितिका लागि अध्यक्ष सहित १६ पदका लागि निर्वाचन हुने संघका कार्यकारी अधिकृत हेमराज भट्टले बताए । त्यसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उद्योग उपाध्यक्ष १, बाणिज्य उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष, कार्य समिति सदस्य ७ र संस्थागत सदस्य १ छन् ।
निर्वाचन कार्यक्रम अनुसार पुस ८ गते विहान १० बजे मतदाता नामावली प्रकाशन हुने भएको छ । निर्वाचन सचिवालय संघको कार्यालयमा राखिएको छ ।
संघमा निर्माण व्यवसायी संघ कञ्चनपुर, नेपाल औषधि व्यवसायी संघ, होटल व्यवसायी संंघ कञ्चनपुर, हार्डवेयर तथा निर्माण व्यवसायी संघ र नेपाल वन पैदवार उद्योग व्यवसायी संघ कञ्चनपुर संस्थागत सदस्य छन् ।
संघका दुई हजार एक सय २१ सदस्यले निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । १७ औं कार्य समिति निर्वाचन भन्दा मतदाता संख्या कम हो । १७ औं कार्य समिति निर्वाचनमा पिताम्बर जोशी अध्यक्ष निर्वाचित भएका थिए ।


