

महेन्द्रनगर । एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरका तीन निवर्तमान केन्द्रीय दोहोरिएका छन् । एमाले ११ औं महाधिवेशनबाट निरुदेबी पाल, कमला बोहरा र कृपाराम राना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनीहरु यस अघि १० महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्य भएका हुन् ।
निर्वाचित पाल एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज थिइन् । यसैगरी बोहरा निर्वाचन क्षेत्र नं. १ र राना ३ नम्बर क्षेत्रका इन्चार्ज हुन् । राना संविधान सभा सदस्य हुन् ।

११ औं महाधिवेशनमा केन्द्र्रीय सदस्य दोहोरिन उनीहरु सहित राजेन्द्र सिह रावल र नर बहादुर धामी चुनावी प्रतिस्पर्धामा होमिएका थिए । धामीले मतदान अघि आफ्नो उम्मेदवारी निष्क्रिय पारे ।

एमालेका पूर्व साँसद एमाले निर्वाचन क्षेत्र नं. २ का इन्चार्ज हुन् । एमाले पोलिटब्युरो सदस्य रावल भने केन्द्रीय सदस्यमा पराजित भएका थिए । उनी सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री हुन् ।
निर्वाचित तीन केन्द्रीय सदस्यमध्ये पाल र बोहरा खुला र राना थारुबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
सुदूरपश्चिम सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा, पूर्व साँसद डा. दिपक प्रकाश भट्ट, कर्णाली प्रदेशका पूर्व प्रमुख गोबिन्द कलौनी, युवा नेता बचन बहादुर सिह केन्द्रीय सदस्यमा पराजित भएका छन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पूर्व साँसद तारालामा तामाङ्गले पनि उम्मेदवारी निष्क्रिय पारेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल दोहोरिएका छन् । ११ औं अधिवेशनमा अध्यक्ष ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए ।

