

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ गोबरस्थित निङ्गलाशैनी माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा फेरि निरञ्जन प्रसाद भट्ट चयन भएका छन् ।
विद्यालय व्यवस्थापन समिति सदस्यहरुको भेलाबाट भट्ट चौथो कार्यकालका लागि शनिबार सर्वसम्मत अध्यक्ष भएका हुन् । उनी यस अघि लगातार तीन कार्यकाल पूरा गरी चौथो कार्यकालका लागि समिति नेतृत्व पाएका हुन् ।

भट्ट भीनपा १५ गोबरैयका वासिन्दा हुन् । पहिलो २०७२ मा समिति नेतृत्व पाएका उनी समाजसेवा र निर्माण व्यवसायमा आवद्ध छन् ।
भट्टले विद्यालयको शैक्षिक र भौतिक विकासलाई प्राथमिकता दिएका छन् । उनको कार्यकालमा वर्षौदेखि विद्यालयसित सम्बन्धित जग्गा विवाद समाधान भएको छ । जग्गा विवाद विद्यालयलाई ठूलो समस्याका रुपमा थियो ।
पहिलो पटक अध्यक्ष हुँदा भट्टले जग्गा विवाद समाधान गरेका हुन् । भट्टले देश विदेशबाट सहयोग जुटाएर प्रविधि मैत्री बनाएका छन् । भट्टले विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन सुरुवात गराएका छन् ।


भौतिक पूर्वाधार विकासमा विद्यालयले अनपेक्षित उपलब्धि हासिल गरेको छ । विद्यालयका पूराना र जीर्ण भवन भत्काएर नयाँ भवन निर्माण गरिएको छ । सुदूरपश्चिम र स्थानीय सरकारसित समन्वय गरी नयाँ भवन निर्माण गरिएका छन् ।
भट्टले २०७९ मा जन सेवा श्री विभुषणबाट सम्मानित भएका थिए । सरकारले राजनीति, समाजसेवा, सामाजिक अगुवा लगायतका विभुषण दिँदै आएको छ । तत्कालिन राष्ट्रपति विद्यादेबी भण्डारीबाट भट्टले विभुषण ग्रहण गरेका थिए ।
विद्यालय बाहेक भट्टले निर्माण व्यवसायी संघ कञ्चनपुरको नेतृत्व गरि सकेका छन् । उनी संघका निवर्तमान अध्यक्ष हुन् ।
उनी हक्की र प्रष्ट वक्ता व्यवसायीका रुपमा चिनिन्छन् । भट्ट सुदूरपश्चिम प्रदेशको ठूलो सहकारी उदयदेब बहुउद्देश्यीयका उपाध्यक्ष छन् ।
निङ्गलाशैनी विद्यालयमा फेरि व्यवस्थापन समिति अध्यक्ष भएपछि उनले विद्यालयका शैक्षिक भौतिक विकासलाई प्राथमिकता दिएर अघि बढ्ने बताए ।
‘आम अभिभावक, शिक्षक, कर्मचारी सरोकारवाला निकायको विश्वास अनुरुप गाँउको विद्यार्थीको भविष्यदेखि सामुदायिक विद्यालय बनाउने अभियानमा जुट्नेछु’ उनले भने ।

