
उद्योग बाणिज्य संघको १८ औं कार्य समिति सर्वसम्मत बनाउने सम्भावना घट्दै, कोषाध्यक्ष र सदस्यमा चुनावको सम्भावना


महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको १८ औं कार्यकारिणी समिति निर्वाचनमा आज(सोमबार) दिउँसो ३ बजेसम्म उम्मेदवारले उम्मेदवारी फिर्ता लिने समय राखिएको छ ।
संघको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो । एकल उम्मेदवारी परेपछि संघको अध्यक्ष सहित पाँच पदाधिकारी र एक सदस्य निर्विरोध भएका छन् ।

कोषाध्यक्ष र ७ सदस्यका लागि १७ उम्मेदवार छन् । संघको संस्थागत सदस्यमा गजेन्द्र बिक्रम थापा निर्विरोध भएका छन् ।
कोषाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा छ । कोषाध्यक्षमा कार्य समिति सदस्य प्रदिप पाल सहित सिद्धराज भट्ट र मिनरान भट्ट उम्मेदजार छन् ।
उम्मेदवारी दर्तापछि तीन जनालाई सहमतिमा ल्याउन गरिएका प्रयास विहानसम्म निष्कर्षमा पुगेका छ्रैनन् । तीन जनाले अडान नछाडेकाले कोषाध्यक्षमा चुनाव हुने सम्भावना देृखिएको संघका एक पदाधिकारीले बताए ।
‘प्रयास जारी छ, सहमति हुन पनि सक्छ, नहुन पनि सक्छ’ ती पदाधिकारीले भने,‘सहमति भएन भने चुनाव नै त हुने हो ।’
संघका अध्यक्ष पिताम्बर जोशी सहित पूर्व अध्यक्षहरु सहमतिका लागि प्रयास गरि रहेका छन् । सोमबार विहान पनि उनीहरु संघको कार्यालय पुगि सकेका छन् ।
७ सदस्यका लागि १४ उम्मेदवार छन् । उनीहरुलाई पनि सहमतिमा ल्याउन छलफल गरिएको छ । सदस्यहरुमा उम्मेदवारी फिर्ताको पक्षमा देखिएका छ्रैनन् ।
उम्मेदवारी फिर्ताका लागि सामूहिक र व्यक्तिगत रुपमा छलफल भइ रहेको संघका ती पदाधिकारीले बताए ।

संघको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्दले दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता समय भएको बताए ।
संघको अध्यक्षमा निर्विरोध भएका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले सहमतिका लागि प्रयास भई रहेको बताए ।
कोषाध्यक्षमा मिनराज भट्टका लागि सहमति खोज्ने गरी छलफल गरिएको सहभागीहरुले बताए । त्यसलाई अन्य दुई उम्मेदवारले अस्वीकार गरी चुनाव लड्ने अडान लिएका छन् ।
चुनाव लड्ने अडान लिएपछि उनीहरु छलफलमा आउन छाडेका छन् । अहिले उनीहरु सम्पर्कमा आउन खोजेका छैनन् ।
संघको अध्यक्षमा मल्ल, वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र प्रकाश साउँद, उद्योग उपाध्यक्षमा तेज बहादुर चन्द, बाणिज्य उपाध्यक्ष गणेश चटौत, महासचिव राहुल भट्ट महासचिव र सचिवमा एनपी जोशी निर्विरोध भएका छन् ।
संघका सदस्य एनपी जोशी सचिवमा आउन लागेका छन् । उनी संघको कार्य समिति सदस्य हुन् ।
७ सदस्यका लागि लोकराज भट्ट, गोबिन्द भट्ट, पारस जोशी, निरज गुप्ता, पुरन पाण्डेय, देबदत्त जोशी, भोजराज अवस्थी, गंगा सिह धामी, कृष्ण राना, सरिता भण्डारी, हेमराज भट्ट, पार्वती कुमारी विष्ट, सञ्जय कुमार भट्ट र जगदीश कुमार भट्ट उम्मेदवार भएका छन् ।
संघको अध्यक्षमा दिनेश मल्ल, वरिष्ठ उपाध्यक्ष दिपेन्द्र प्रकाश साउँद, उद्योग उपाध्यक्ष तेज बहादुर चन्द, बाणिज्य उपाध्यक्ष गणेश चटौत, महासचिव राहलु भट्ट र सचिवमा एनपी जोशीको एकल उम्मेदवारी परेको हो ।
एकल उम्मेदवारी परेपछि उनीहरु सबै निर्विरोध भएका छन् । निर्वाचन समितिले निर्विरोध भएको आधिकारिक घोषणा गरेको छैन ।
संघको १७ र्औ निर्वाचनमा अध्यक्ष, बाणिज्य उपाध्यक्ष र महासचिवमा निर्वाचन भएका थियो । अन्य पदाधिकारी र सदस्य सबै निर्विरोध भएका थिए ।
