
जग्गा दलालसित मिलेर झलारीका विकलाई घर लिलाम गरी बिचल्ली गरेको भन्दै जेन जी युवाले गरे एनएमबी बैंकको झलारी शाखामा तालाबन्दी


महेन्द्रनगर । एनएमबी बैंकको झलारीस्थित शाखामा जेन जी युवाले तालाबन्दी गरेका छन् । शुक्लाफाँटा नगरपालिका १० का अजय विकको घर जग्गा दलालसंग मिलेमतो गरी लिलाम गरी बिचल्लीमा पारेको भन्दै बुधबार दिउँसो बैंक शाखामा तालाबन्दी गरिएको छ ।
बैंक कर्मचारीले दिउँसो आएको जेन जी युवालो तालाबन्दी गरेको बताएका छन् । उनीहरुले जेन जी युवा बंैक बन्द हुने समयसम्म कार्यालय बाहिर भएको जानकारी दिए ।

यस अघि केही दिन अघि जेन जी युवाले विकको धितो लिलाम सम्बन्धि इलाका प्रहरी कार्यालयमा बैंकका प्रतिनिधिसित छलफल गरेका थिए ।
जेन जी युवा छलफलका लागि बैंक कार्यालय पुगेपछि इलाका प्रहरी कार्यालय लगेर छलफल गरिएको थियो ।
बैंक कर्मचारीले जग्गा दलालसित मिलेमतो गरी बिकको झण्डै दुई करोड मूल्य पर्ने घर लिलाम गरेका समाचार सार्वजनिक भएपछि जेन जी युवा चासो देखाएका हुन् ।
जेन जी युवाले बैंकले बदमासी गरी घर लिलाम गरेको भन्दै बैंक विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । बैंक पीडित बिकले आफूले लिँदै नदिएको ऋण देखाएर बैंकले आफ्नो घर लिलाम गरेको बताउँदै आएका छन् ।

बिकले २०७५ मा बैंकको तत्कालिन झलारी शाखाबाट १५ वर्षका लागि २९ लाख ५० हजार घर कर्जा लिएका थिए । यो ऋण बैकको तत्कालिन शाखा कञ्चन डेभलपमेन्ट बैंंक शाखा झलारीबाट लिइएको थियो ।
बिकले ऋणका लागि आफ्नी धर्मपत्नि ज्ञानु विश्वकर्माको नाममा भएको झलारीस्थित ६१६ नम्बर कित्ताको जग्गा र त्यसमा बनेको घर धितो राखेका थिए । त्यहीं धितो रोक्का गरी बैकले विकलाई ऋण दिएको थियो ।
विकले लिएको २९ लाख ५० हजार दिएको ऋण रकम धितो दृष्टिबन्धक लिखतमा भने ३७ लाख उल्लेख गरिएको पाइएको छ । बैंकले विकलाई दिएको कर्जा स्वीकृत प्र्रस्तावमा भने २९ लाख ५० हजार ऋण उल्लेख छ ।
बैंकबाट लिएको २९ लाख ५० ऋणलाई बैंकले महेन्द्रनगर शाखाबाट २०७५ मा ३७ लाख ऋण लिएर किस्ता तिर्न आनाकानी गरेको भन्दै २०८० मा उनको घर लिलाम गरेको थियो ।
बिकले बैंकलाई लिलाम हुन अघिसम्म १० लाख बढी रकम किस्ता तिरेको बताउँदै आएका छन् । बैंकले आफूलाई ऋण तिर्न समय नदिई जग्गा दलालसंग सेटिङ्ग गरी घर लिलाम गरेको भन्दै विक परिवार दुई वर्षदेखि न्यायको खोजीमा छ ।
जेन जी युवाले साथ दिएपछि बैंकले आफूसित गरेको बदमासी सच्चिने आश पलाएको आएको विकले बताए ।
‘ऋण तिर्दातिर्दै मैले नलिएको ऋण देखाएर पूरै सेटिङ्ग गरी मेरो घर लिलाम गरी सडकमा पुगाउने खेल भएको छ, यसमा हामी ढिलो चाँडो न्याय पाउँछौ ’ उनले भने,‘जेन जी भाई बहिनीले हामीसित देखाएको सदासयताका लागि कृतज्ञ छौ ।’
