
भीमदत्तका कार्य वाहक मेयर जोशीले कञ्चनपुर प्रहरी प्रमुखकै अगाडि भनिन्– नाम नै किटान गरी पनि किटानी जाहेरी दिनु भएको थियो, खै त समातेको छैन, कसले रोकेको हो तपाईलाई ?


महेन्द्रनगर । भीमदत्त नगरपालिकाका कार्य वाहक मेयर निलम लेखक जोशीले किटानी जाहेरी पर्दा समेत प्रहरीले जेन जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै असन्तुष्टि पोखेकी छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) खडक खत्री सहित विभिन्न सरकारी र गैर सरकारी निकायका प्रतिनिधि सहभागी कार्यक्रममा कार्य वाहेक मेयर जोशीले कानुन भएर पनि कार्यान्वयन हुन नसकेको बताएकी हुन् ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबबाट बोल्दै उनले प्रहरी उपरीक्षक खत्रीलाई पक्राउ नगर्नको कारण समेत सोधेकी छन् ।
‘किटानी जाहेरी गरेर पनि पक्राउ गरिएको छैन, निवर्तमान मुख्यमन्त्रीज्यूले त नाम नै किटान गरी पनि किटानी जाहेरी दिनु भएको थियो, खै त समातेको छैन ’ उनले भनिन्,‘कसले रोकेको हो तपाईलाई ।’
कार्य वाहक मेयर जोशीले कानुन भए भए पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै स्थानीय तह विद्यमान कानुनी व्यवस्था टेकेर अघि बढेको बताइन् ।

कार्यक्रममा जेनजी आन्दोलनका क्रममा घर तोडफोड र आगजनीबाट पीडित झापाको स्थानीय तहकी उप मेयरका व्यथा सुनाइन् ।
श्रीमान बितेपछि एकल बनेकी ती उप मेयर जेन जी आन्दोलनका क्रममा घर ध्वस्त भएपछि माइती घरमा बस्दै आएको उनले बताइन् । ‘त्यो आन्दोलनमा घर त मेरो पनि तोडफोड भएको थियो, ती झापाकी उप मेयरको हालत हाम्रो भन्दा निकै नाजुक छ, बिचल्ली भएको छ’ उनले भनिन् ।
जोशीले आफ्नो घर जलेको पछुतो नभएको उल्लेख गर्दै त्यसलाई फेरि बनाउन सकिने बताइन् । ‘घर त मेरो पनि जलेको थियो, घर जलेर केही फरक छैन’ उनले भनिन्,‘घर त फेरि पनि बनाउन सकिन्छ ।’
स्वीट नेपाल कञ्चनपुरले नयाँ परियोजना सम्बन्धि परिचयात्मक कार्यक्रममा कार्य वाहक मेयर जोशी सहित सहभगी भएका हुन् ।
कार्यक्रममा कार्य वाहक मेयर जोशी र एसपी खत्री संगै बसेका थिए । जोशी बोल्न अघि एसपी खत्रीले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।
भदौ २४ गते जेनजी आन्दोलनमा भीमदत्तका कार्य बाहक मेयर जोशी सहित मेयर पदम बोगटी, निवर्तमान मेयर सुरेन्द्र विष्ट, तत्कालिन गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिम सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल, एमाले नेता निरुदेबी पाल, काँग्रेस प्रदेश साँसद मधुदेबी भारती, नेकपा प्रदेश साँसद प्रकाश रावल लगायतको घरमा आगजनी र तोडफोड गरिएको थियो ।
