
निर्वाचन आचार सँहिता मिच्दै कृष्णपुरका मेयरले बाँडे महेन्द्रनगरमा टहरा बनाएर बस्दै आएका आरक्ष पीडितलाई झुल


महेन्द्रनगर । निर्वाचन आचार सँहिता लागू भएको पाँच दिनपछि कृष्णपुर नगरपालिकाले महेन्द्रनगरस्थित सरकारी जमिनमा टहरा बनाएर बस्दै आएका आरक्ष पीडित परिवारलाई झुल र म्याट प्रदान गरेको छ ।
आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले शिबिरमा बस्ने क्रममा समस्या आएपछि सबै स्थानीय सरकारसग माग गरेपनि कृष्णपुरले दिएको बताए ।

‘हामीलाई यहाँ शिबिरमा बस्न समस्या भएको छ, बिछ्याउने समेत समस्या भएपछि आधारभूत आवश्यकताका लागि सबैतिर माग गरे तर कसैले दिएनन, ‘उनले भने, ‘कृष्णपुरका मेयर हेमराज ओझा ज्यूले दिनुभयो ।’
कृष्णपुर नगरका मेयर हेमराज ओझाले आरक्षपीडितले पहिल्यैदेखि बिछ्याउने म्याट र झुल माग गरेर अनुरुप पहिल्यै खरिद गरेको भएपछि हस्तान्तरण गरिएको बताए ।

कृष्णपुर नगरपालिका सरकारबाट बस्नका लागि म्याट र लामखुट्टेबाट बाँच्न झुल पाएपछि हर्षित भएका छन् ।
गत कार्तिकदेखि पीडित डिभिजन वन कार्यालय कञ्चनपुर अगाडी टहरा बनाएर बसेका छन ।
निर्वाचन आयोगले माघ ४ गते रातिदेखि आचार सँहिता लागू गरेको हो । निर्वाचन आचार मिचेर मतदाता प्रभावमा पार्न सहयोग गरिएको भन्दै आलोचना भएको छ ।
महेन्द्रनगरमा बस्दै आएका आरक्ष पीडित कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का हुन् । कञ्चनपुर क्षेत्र नं. २ बाट काँग्रेसका एनपी साउँद उम्मेदवार छन् ।
कृष्णपुर मेयर ओझा साउँद निकट हुन् । उनी काँग्रेस कञ्चनपुरका सचिव हुन् । कञ्चनपुर २ का उम्मेदवार साउँदका लागि मेयर ओझाले झुल लगायत समान वितरण गरेको भन्दै आलोचना भएको छ ।
उम्मेदवार साउँदले २०७९ मा आरक्ष पीडितको पुनस्र्थापन गर्ने लिखित आश्वासन दिएर सहयोग मागेका थिए ।
