

महेन्द्रनगर । विघटित संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले कञ्चनपुरमा निर्वाचन प्रचारप्रसारका लागि समिति बनाएको छ ।
काँग्रेस पार्टी कार्यालयमा बिहीबार उम्मेदवार सहित बसेको जिल्ला समिति बैठकले उप सभापति मिन बहादुर सिहको नेतृत्वमा ५ सय १ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ । बैठकले जिल्ला सचिव भीमराज भट्टको नेतृत्वमा जिल्ला सचिवालय बनाएको छ ।

काँग्रेसले माघ १५ गतेभित्र तीन ओटै क्षेत्रका सबै ९२ वडामा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको छ ।
बैठकमा सबै क्षेत्रले निर्वाचन तालिका (सेडुयल) तयार गर्ने, माघ १५ गतेभित्र मातहतका सबै समिति अनिवार्य रुपमा समिति बैठक राख्नु पर्ने र काँग्रेसका तीन ओटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई मतदान गर्न सहयोगका लागि आग्रह गर्ने निर्णय गरिएको सचिव भट्टले जानकारी दिए ।

कञ्चनपुर १ मा गोपी प्रसाद उपाध्यय, २ मा एनपी साउँद र ३ मा हरि बोहरा काँग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् ।
उनीहरुमध्ये बोहरा र उपाध्यय पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएका हुन् । बोहरा काँग्रेस कञ्चनपुरका पूर्व सभापति हुन् ।
कञ्चनपुर ३ मा काँग्रेसले पूर्व गृहमन्त्री रमेश लेखकलाई टिकट नदिएर बोहरालाई उम्मेदवार बनाएको हो । लेखक यस क्षेत्रमा २०५६ देखि निर्वाचन लड्दै आएका छन् ।
लेखकले टिकट नपाएपछि उम्मेदवारी दर्ताका दिन काँग्रेस सभापति गगन थापा र उप सभापति विश्वप्रकाश शर्माको पुत्ला जलाइएको थियो ।
लेखकले टिकट नपाएपछि काँग्रेसले कञ्चनपुर ३ मा अन्तिममा मात्रै उम्मेदवारी दर्ता गराएको थियो ।

