

महेन्द्रनगर । एमाले कञ्चनपुरले फागुन २१ गते हुने निर्वाचनका लागि जिल्ला अध्यक्ष लक्ष्मी बुढालाई मूल निर्वाचन परिचालन कमिटीको जिम्मा दिएको छ । एमाले जिल्ला सचिवालय बैठकले बिहीबार जिल्ला अध्यक्ष बुढाको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरेको हो ।
बैठकले कञ्चनपुर इन्चार्ज निरुदेबी पालको नेतृत्वमा अनुगमन तथा निर्देशन कमिटी बनाएको छ । पाल प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक साँसद छन् ।

उम्मेदवारी दर्तापछि बिहीबार पार्टी कार्यालयमा तीन ओटै निर्वाचन क्षेत्रका उम्मेदवार सहित बसेको सचिवालय बैठकले सबै क्षेत्रमा निर्वाचन परिचालन कमिटी बनाएर जाने लगायतका निर्णय गरिएको एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले जानकारी दिए ।
एमालेबाट कञ्चनपुर १ मा तारालामा तामाङ्ग, २ मा बचन बहादुर सिह र ३ मा डा. दिपक प्रकाश भट्ट उम्मेदवार छन् । उनीहरुमा तामाङ्ग निर्वतमान साँसद हुन् ।

२०७९ को निर्वाचनमा उनी काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार विना मगरलाई पराजित गरी निर्वाचित भएका हुन् ।
एमालेले यस पटक तामाङ्ग सुरुमा टिकट नदिई पछि नेता र कार्यकर्ताको सुझावपछि निर्णय हेरेफर गरेको हो । एमाले केन्द्रीय सचिवालय बैठकले केन्द्रीय सदस्य कमला बोहरालाई टिकट दिने निर्णय गरेको थियो ।
तामाङ्ग २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भएर सुदूरपश्चिम सरकारको आर्थिक मन्त्री भएका थिए । उनी एमाले कञ्चनपुरका पूर्व अध्यक्ष हुन् ।
कञ्चनपुर २ का उम्मेदवार सिह पहिलो पटक संघीय संसदका लागि चुनावी दौडमा छन् । उनी २०७९ मा प्रदेश सभा सदस्य चुनाव लडेका थिए । सिह राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष हुन् ।
कञ्चनपुर ३ का उम्मेदवार भट्ट २०७४ मा चुनाव लडेर निर्वाचित भएका थिए । २०७९ मा उम्मेदवारका लागि सिफारिश भए पनि निरुदेबी पाललाई टिकट दिइएको थियो ।

