
कृष्णपुरको बैजनाथ आधारभूत विद्यालयका शिक्षकमाथि सरस्वति पूजामा जातीय विभेद, न्याय खोज्दै शिक्षक महासंघमा दिए निवेदन

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाको बैजनाथ आधारभूत विद्यालयका शिक्षक गजीराम सार्कीमाथि सरस्वती पूजामा जातीय विभेद गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर कुमार भण्डारीले शिक्षक सार्कीलाई टिका नलगाई पातमा राखेर उनको हातमा दिएर विभेद गरेका हुन् ।

शुक्रबार विद्यालयमा गरिएको सरस्वती पूजामा शिक्षक सार्की सहभागी भएका थिए । व्यवस्थापन समिति अध्यक्ष भण्डारीले सार्की बाहेक अन्यलाई भने टिका लगाएका थिए ।

सार्कीले अध्यक्ष भण्डारीले आफूमाथि जातीय विभेद र सार्वजनिक कार्यक्रममा अपमानजक व्यवहार गरेको भन्दै न्यायका लागि शिक्षक महासंघ गुहारेका छन् ।
शिक्षक महासंघको कृष्णपुर नगर समितिमा सार्कीले निवेदन दिएर न्याय दिन माग गरेका छन् ।
‘सरस्वति पूजामा सरिक हुँदा सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सागर कुमार भण्डारीले टिका लगाउने कार्यक्रममा टिका पातमा ल्याई हातमा दिई अपमानजनक, अमानवीय व्यवहार र जातीय विभेदको व्यवहार गरेकाले विद्यालय जस्तो पवित्र र सार्वजनिक ठाउँमा जातीय भेदभाव गरेकाले सागर भण्डारीलाई सजायको माग गर्दै मलाई उचित न्याय दिलाई दिन हुन विनम्र अनुरोध गरिन्छ’ शिक्षक सार्कीले शिक्षक महासंघमा दिएको निवेदनमा भनिएको छ ।

