
कञ्चनपुर १ मा तामाङ्ग जिताउन कम्मर कसेर लाग्दै एमाले नेता, प्रदेश अध्यक्ष जैसी र केन्द्रीय सदस्य बोहराले गरे चुनाव जिताउने वाचा


महेन्द्रनगर । कञ्चनपुर १ का एमाले उम्मेदवार तारालामा तामाङ्गलाई जिताउन सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णदत्त जोशीदेखि केन्द्रीय सदस्य कमला बोहरासम्म सबै सक्रिय रुपमा लाग्ने भएका छन् ।
प्रदेश अध्यक्ष जैसी सहित एमाले केन्द्रीय सदस्य बोहरा लगायतका नेताहरु सोमबार बेलौरीमा एक साथ कार्यक्रममा सहभागी भएर चुनाव सम्बन्धि धारणा राखेका छन् ।

प्रेस चौतारी नेपालले राखेको कार्यक्रममा उम्मेदवार तामाङ्ग सहित नेताहरुले फागुन २१ गतेको निर्वाचनमा सक्रिय रुपमा लाग्ने बताए ।
कञ्चनपुर १ मा एमाले केन्द्रीय सचिवालयले बोहरालाई उम्मेदवार बनाउने निर्णय गरिएको सार्वजनिक गरेको थियो । त्यसपछि त्यसलाई संशोधन गर्र्दै तामाङ्गलाई उम्मेदवार बनाइएको थियो ।

बोहराको टिकट खोसिएको भन्दै एमालेभित्र असन्तुष्टि बढ्ने आशंका गरिएको थियो । सोमबार बोहरा सहित सबै नेताहरुले एक साथ कार्यक्रममा तामाङ्गलाई जिताउन लाग्ने बताए ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले बोहराको टिकट खोसिएको र त्यसले एमालेभित्र असन्तुष्टि भएकोबारे जिज्ञासा राखेका थिए ।
उम्मेदवार तामाङ्गले टिकटको कुरा पार्टीको भएकाले त्यसले पार्टीभित्र कुनै पनि अन्र्तद्वन्द्व नभएको बताए । ‘टिकटको कुरा यहाँ अरु नेताहरु पनि हुुनु हुन्छ, वहाँले होला’ उनले भने,‘ अन्र्तद्वन्द्व छैन, निर्णय भएपछि मैले टिकेट पाको हुँ, टिकट कसले पायो भन्ने कुरा यो ठूलो कुरा होइन ।’
एमाले केन्द्रीय सदस्य बोहराले आफूले उम्मेदवार तामाङ्ग जिताउन लाग्ने बताइन् । उनले टिकटलाई लिएर पार्टीभित्र कुनै असन्तुष्टि नभएको र आफू एमालेको सिपाही भएकाले निर्वाचनमा लाग्ने बताइन् ।
बोहराले आफू कक्षा ६ देखि एमालेको अखिलमा आवद्ध भएर केन्द्रीय सदस्य भएको उल्लेख गर्दै एमाले विरुद्ध चौतर्फी रुपमा घेराबन्दी बढेको र त्यसका विरुद्ध आफू सधैं सक्रिय भएर लाग्ने बताइन् ।
