

महेन्द्रनगर । कञ्चनपुर ३ का काँग्रेस उम्मेदवार हरि प्रसाद बोहरा दोधारा चाँदनी पुगेका छन् । चुनावी प्रचारका लागि दोधारा चाँदनी पुगेर बोहराले आफूलाई मतदान गरी जिताउन मतदातासित आग्रह गरेका छन् ।
कञ्चनपुर ३ को जितमा दोधारा चाँदनी निर्णायक मान्ने गरिएको छ । अहिले दोधारा चाँदनीबाट नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार भएकाले अन्य दल दबावमा छन् । नेकपाबाट सुदूरपश्चिम सरकारका पूर्व राज्यमन्त्री मान बहादुर सुनार चुनावी मैदानमा छन् ।

बोहराले काँग्रेस नेता कार्यकर्ता सहित मतदातासित भेटघाट गरेको काँग्रेस कञ्चनपुरका सह सचिव नाफू सिह साउँदले बताए ।
काँग्रेस उम्मेदवार बोहरा कञ्चनपुर ३ मा सबैभन्दा बढी चुनौतीमा छन् । दोधारा चाँदनी क्षेत्रमा बोहरा झन असहज अवस्थामा छन् ।
बोहराको उम्मेदवारी दर्ताका दिन काँग्रेस नेता कार्यकर्ताले सभापति गगन थापा र उप सभापति विश्वप्रकाश शर्माको पुत्ला जलाएको थियो ।
बोहराका लागि काँग्रेसका असन्तुष्ट कार्यकर्ता मनाउन सबैभन्दा ठूलो चुनौति भएर आएको छ । पूर्व गृहमन्त्री रमेश लेखकको टिकट खोसेको विषय बुझाएर मतदाताको मन जित्न बोहरालाई अर्को अप्ठेरोले घेरेको छ ।
काँग्रेस कञ्चनपुरमा रमेश लेखक समूहका बोहरा पछिल्लो पटक विशेष महाधिवेशनमा सहभागी भएर कञ्चनपुर ३ का उम्मेदवार हुन आएका हुन् ।
बोहरा कञ्चनपुर २ बाट सिफारिश गरिएका थिए । यस क्षेत्रबाट पूर्व गृहमन्त्री लेखक सहित शंकर बहादुर चन्द र प्रेम बहादुर विष्ट सिफारिश भएका थिए । बोहरा टिकट दिएर उम्मेदवार मनोनयनका दिन काठमाडौंबाट आएका थिए।

जेनजी आन्दोलनपछि स्थान हद भएर उपत्यका बाहिर आउन नसकेका पूर्व गृहमन्त्री लेखक सोमबार गृह नगर आएका छन् । उनी निवासमा पार्टी नेता कार्यकर्ता र समर्थकसित चुनावी भेटघाट र छलफल गरि रहेका छन् ।
गृह मन्त्री लेखक आएपछि बोहरा चुनावी भेटघाटका लागि दोधारा चाँदनी पुगेका छन् ।
सोमबार बोहराले धनगढी विमानस्थलमा ठूलो संख्यामा काँग्रेस नेता कार्यकर्ता सहित लेखकको स्वागत गरेका थिए ।
दोधारा चाँदनीमा असन्तुष्ट नेता कार्यकर्ता मनाउन बोहराले यस अघि नेता गोपाल गुरुङ्गलाई पठाएका थिए। गुरुङ्गले असन्तुुष्ट नेता कार्यकर्ता छलफल गरेको नेताहरु बताउँछन् ।
गुरुङ्ग यस अघि लेखक जिताउन सक्रिय भएर लागेका नेता हुन् । यस पटक गुरुङ्ग पनि काँग्रेस विशेष महाधिवेशनमा सहभागी भएका छन् ।
२०७९ मा लेखकलाई जिताउन नेकपा उम्मेदवार सुनारसित सम्बन्ध सुधारका लागि गुरुङ्गले सबैभन्दा पहिले भेटघाट गरेका थिए । काँग्रेस र माओवादी केन्द्र २०७९ मा चुनावी गठबन्धन बनाएर लडेका थिए ।
लेखकका कारण सुनारले काँग्रेस छाडेकाले उनलाई मनाउन गुरुङ्ग उम्मेदवारी दर्तापछि दोधारा चाँदनी पुगेका थिए ।
कञ्चनपुर ३ मा बोहरा अर्को क्षेत्रबाट आएर चुनाव लड्न लागेका हुन् । काँग्रेस कञ्चनपुरका पूर्व सभापति बोहरा संसदीय चुनावमा पहिलो पटक मैदानमा पुगेका छन् ।
काँग्रेसभित्र उनी सोझो र इमान्दार नेता मानिन्छन् । पार्टी सभापति भएकाले पार्टीभित्र नेता कार्यकर्तामा प्रभाव भएको नेता मानिन्छन् ।
बोहरासित एमाले पूर्व साँसद डा.दिपक प्रकाश भट्ट, नेकपाका सुनार, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्ण बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र सिह महता, उज्यालो नेपालका भीम बहादुर कुमाल, राष्ट्रिय जनमोर्चाका लाल बहादुर कुँबर लगायत १७ जना चुनावी प्रतिस्पर्धी छन् ।
कञ्चनपुर ३ का उम्मेदवार एमाले पूर्व साँसद भट्ट २०७४ मा पूर्व गृहमन्त्री लेखकलाई हराएका निर्वाचित भएका हुन् ।
२०५१ को मध्यावधि निर्वाचनपछि एमालेका भट्टले पहिलो पटक कञ्चनपुर ३ मा जित दोहोरयाएको हो । भट्ट अहिले फेरि चुनावी मैदानमा छन् । पूर्व साँसद भट्ट सबै उम्मेदवारका लागि चुनौती छन् ।
२०५६, २०७० र २०७९ चुनाव जितेका लेखकलाई भट्टले हराएका थिए । यस क्षेत्रमा २०४८ मा पनि काँग्रेसले जितेको थियो । २०६४ मा काँग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवा र २०६५ को उप निर्वाचन तत्कालिन नेकपा माओवादीका हरिश ठकुल्लाले जितेका थिए ।
एमाले पूर्व साँसद भट्ट यस पटक फेरि कञ्चनपुर ३ बाट निर्वाचिन हुने लक्ष्य लिएर मैदानमा आएका छन् ।
एमालेभित्र बौद्धिक, शालिन र भद्र व्यक्तित्वको छवि भएका उनीसित व्यक्तित्वको कारण मतदाता आकर्षित छन् ।
