

महेन्द्रनगर । नेकपा एमालेले कञ्चनपुर ३ का उम्मेदवार डा. दिपक प्रकाश भट्टको चुनाव प्रचारमा युवा परिचालन गर्ने भएको छ । एमाले पार्टी कार्यालयमा आइतबार बसेको बैठकले निर्वाचन क्षेत्रमा युवा परिचालनको जिम्मेवारी बाँडफाँट गरिएको छ ।
राष्ट्रिय युवा संघका शिवा वस्नतेको संयोजकत्वमा ५१ सदस्यीय युवा परिचालन समिति गठन गरिएको छ । समितिको सह संयोजकमा यज्ञराज नाथ र सचिवमा रोहित गजुरेललाई जिम्मेवारी दिइएको छ ।

एमालेले डा. भट्टको चुनावी प्रचारका लागि यस अघि दोधारा चाँदनीमा गगन खत्री र भीमदत्त नगरपालिकामा बिष्णु कँडेललाई संयोजक बनाएर परिचालन जिम्मा दिएको छ । कञ्चनपुर ३ मा भीमदत्त, दोधारा चाँदनी र बेदकोटका गरी ३० वडा छन ।
कञ्चनपुर ३ मा डा. भट्ट यस अघि २०७४ मा निर्वाचित भएका हुन् । २०७४ मा उनले पूर्व गृहमन्त्री रमेश लेखकलाई चुनाव हराएका थिए । एमालेमा बौद्धिक र स्वच्छ छविका भट्टलाई एमाले कञ्चनपुरले एकल उम्मेदवार छनौट गरेको थियो ।
डा. भट्टले केही दिन अघि पत्रकार भेटघाट कार्यक्रममा आफ्नो चुनावी वाचा सुनाएका थिए । २०७४ मा पहिलो पटक साँसद निर्वाचित भएपछि थालनी गरिएका अधुरा कामलाई पूर्णता दिने र केही नयाँ योजना सुरु गर्ने लक्ष्य सहित चुनावी मैदानमा आएको उम्मेदवार भट्टले बताएका थिए ।
बेदकोट नगरपालिका ८ नम्बर वडाबाट डा. भट्टले वडा सम्पर्क कार्यालय उद्घाटन गरी चुनावी प्रचार सुरु गरेका थिए ।
अहिले निर्वाचन क्षेत्रका अधिकाँश वडामा चुनाव सम्पर्क कार्यालय खोलिएका छन् । दोधारा चाँदनीमा नगर स्तरीय चुनाव सम्पर्क कार्यालय खोलिएको छ ।

डा. भट्टले चुनाव प्रचारका लागि चुनावी घरदैलो र व्यक्तिगत भेटघाटमा व्यस्त भएका छन् ।
कञ्चनपुर ३ मा डा. भट्ट सहित १७ उम्मेदवार चुनावी मैदानमा छन् । डा. भट्ट हेभिवेट उम्मेदवारका रुपमा हेरिएका छन् ।
काँग्रेसका हरि प्रसाद बोहरा, नेकपाका मान बहादुर सुनार, राप्रपाका पूर्ण बहादुर चन्द, रास्वपाका ज्ञानेन्द्र सिह महता, उज्यालो नेपाल पार्टीका भीम बहादुर कुमाल लगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
कञ्चनपुर ३ मा एक लाख २ हजार बढी मतदाता छन् । यस अघि २०७९ को निर्वाचनमा काँग्रेस नेता पूर्व गृहमन्त्री लेखकले चुनाव जितेका थिए ।
्काँग्रेसले टिकट नदिएपछि लेखक अहिले बोहरालाई जिताउन खटिएका छन् । कञ्चनपुर काँग्रेसले लेखकलाई उम्मेदवारका लागि सिफारिश गरेको थियो ।
काँग्रेस विशेष महाधिवेशनपछि लेखकलाई टिकट नदिई बोहरालाई उम्मेदवार बनाएको हो ।
कञ्चनपुर ३ मा एमाले यस अघि २०७४ र २०५१ मा निर्वाचित भएको थियो । त्यस बाहेक २०४८, २०५६, २०६४, २०७० र २०७९ मा काँग्रेस निर्वाचित भएको थियो ।
त्यसमध्ये २०५६, २०७० र २०७९ मा लेखक निर्वाचित भएका हुन् । २०६४ मा काँग्रेस नेता शेर बहादुर देउवा र २०६५ मा नेकपा माओवादीका हरिश ठकुल्ला निर्वाचित भएका थिए ।

