
कञ्चनपुर १ मा एमालेले तारालामा तामाङ्गको चुनाव प्रचारका लागि सबै वडामा खोल्न थाल्यो सम्पर्क कार्यालय


महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का एमाले उम्मेदवार तारालामा तामाङ्गको चुनावी प्रचारका लागि सबै वडामा सम्पर्क कार्यालय खोल्न थालिएका छन् ।
निर्वाचन क्षेत्रका चार पालिकाका सबै ३२ वडामा चुनाव प्रचार व्यवस्थित बनाउन सम्पर्क कार्यालय खोल्न लागिएका हुन् । पुनर्वास, बेलौरी बेलडाँडी र लालझाडीका सबै वडामा सम्पर्क कार्यालय खोल्ने कार्य तीव्र पारिएको एमालेको क्षेत्र नं. १ युवा तथा स्वयम् सेवक परिचालन उप समितिका संयोजक कमल कुमार रोकायाले बताए ।

‘पार्टीका उम्मेदवारको प्रचारप्रसारलाई तीब्र बनाउने संकल्प र लक्ष्य सहित सबै वडामा सम्पर्क कार्यालय खोलेर प्रचारमा होमिन्छौ’ उनले भने ।
उम्मेदवारी दर्तापछि उम्मेदवार तामाङ्ग सहित नेताहरुले चुनावी घरदैलो र व्यक्तिगत भेटघाट तथा छलफलमा व्यस्त छन् ।

वडा सम्पर्क कार्यालय खोलिएपछि पार्टीका सबै कमिटी परिचालन गरी चुनाव प्रचार गर्ने एमाले रणननीति छ । त्यस अनुसार चार ओटै पालिकामा पालिका स्तरका सम्पर्क कार्यालय पनि खोलिने छन् ।
उम्मेदवार तामाङ्गसंगै एमाले केन्द्रीय सदस्य कमला बोहरा सहित नेताहरु चुनावी अभियान लागेका छन् । एमाले उम्मेदवार तामाङ्गले केही दिन अघि बेलौरीमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी वाचा सार्वजनिक गरि सकेका छन् ।

तामाङ्ग यस अघि २०७९ को निर्वाचनमा क्षेत्र नं. १ बाट फराकिलो मत अन्तरले निर्वाचित भएका थिए ।

एमालेले यस पटक पनि तामाङ्गलाई फेरि उम्मेदवार बनाएको छ । एमाले कञ्चनपुरका पूर्व अध्यक्ष उनी पार्टीभित्र शालिन, थोरै तर प्रष्ट बोल्ने नेताका रुपमा परिचित छन् ।
चुनावी प्रचार अभियान अन्र्तगत सम्पर्क कार्यालय खोल्न थालेको एमालेले निर्वाचनमा सबै तहका नेता कार्यकर्ता परिचालन गर्ने भएको छ । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णदत्त जैसी निर्वाचन क्षेत्र पुगेर फर्किएका छन् ।
जैसीले सुदूरपश्चिममा एमालेको बहुमत आउने दाबी गर्दै आएका छन् । बेलौरीको पत्रकार सम्मेलनमा जैसी सहभागी भएका थिए ।
एमाले युवा नेता रोकायाले कञ्चनपुर १ मा तारालामा तामाङ्गको विकल्प नभएकोले आम जनताले मतदान गर्ने विश्वास व्यक्त गरे ।

तामाङ्गको प्रचारमा केन्द्रीय सदस्य बोहरा सहित निर्वाचन परिचालन समितिका संयोजक पल्लवराज भट्ट, प्रदेश कमिटीका नेता, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं. १ युवा परिचालन संयोजक कमल रोकाया, जिल्ला कमिटी सदस्य नवीन चन्द लगायत नेता सक्रिय भएका छन् ।
