
खल्ला मुसेट्टी पुगेका एमाले उम्मेदवार डा. भट्टलाई स्थानीयले भने– महाकाली कोरिडोरको काम सुस्त भयो, फास्ट गराई दिनु परयो


महेन्द्रनगर । कञ्चनपुर ३ का एमाले उम्मेदवार डा. दिपक प्रकाश भट्टले मंगलबार भीमदत्त नगरपालिका ९ र १० का विभिन्न वस्तीमा चुनाव प्रचार गरेका छन् ।
भीमदत्त नगरपालिका ९ को खल्ला मुसेट्टी र १० को श्रीलंका टोल, रावल फाँटा र चक्की फाँटा लगायतका वस्तीमा चुनावी कार्यक्रम गरिएको छ । ती सबै वस्तीमा एमालेले चुनावी टोल भेला गरी जनतासित भेटघाट गरेको छ ।

चुनाव प्रचारमा उम्मेदवार डा. भट्ट सहित समानुपातिक उम्मेदवार निरुदेबी पाल,एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर बिक, भमिदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्ट, एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थी लगायत नेता सहभागी भएका छन् ।
खल्ला र मुसेट्टीमा स्थानीयले उम्मेदवारद्वय भट्ट र पाल सहित नेतासित २०७४ को स्थानीय तह निर्वाचनपछि भएका विकास निर्माण कार्यले वस्तीले विकास देखेको र त्यसपछि वास्ता नगरिको गुनासो गरेका छन् ।

महाकाली कोरिडोरको ब्रह्मदेब कौवानी खण्ड निर्माण कार्यको ढिलासुस्ती भएकाले त्यसलाई तीव्रता दिने गरी काम अघि बढाउन पहल गरि दिन उनीहरुले आग्रह गरेका छन् ।
२०७४ पछि खल्ला मुसेट्टीमा गाडी पुगेको, मोबाइल टाबर बनेको, महाकाली कोरिडोरको काम सुरु भएको, बिजुली बत्ती पुगेको, गाउँ घर क्लिनिक र विद्यालय स्तरोन्नति, महाकाली नदीमा साहसिक जलयात्रा सुरु लगायत काम भएका हुन् ।
चुनाव प्रचारमा स्थानीयले महाकाली नदीको बाढी वस्तीमा आएर फसेका स्थानीयलाई हेलिकोप्टरबाट उद्धार गरेको कार्य आफूहरुले बिर्सन नसक्ने बताए ।
महाकाली नदीको बाढीमा मुसेट्टीका तीन जना फसेपछि हेलिकोप्टर मगाएर उद्धार गरिएको थियो ।
एमाले प्रचार विभाग प्रमुख अवस्थीले सबै वस्तीका टोल सभामा स्थानीयको उत्साह पूर्वक सहभागिता देखिएको बताए ।
‘सबै ठाउँमा जनताको सहभागिता उत्साह पूर्वक थियो, महाकाली कोरिडोर कार्य ढिलो भयो, त्यसलाई फास्ट गरि दिनु परो भन्ने कुरा राख्नु भयो’ उनले भने ।
स्थानीयले २०७४ पछि गरेका काम बाहेक वस्तीमा विकास नभएको र हालसम्म जनप्रतिनिधि नआएको दुखेसो पोखे ।
