

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका अन्तर्गत पर्ने नौखरी मुक्त कमैया बस्तीको प्रवेशद्वारमा राखिएको होर्डिङ बोर्डले प्रतिनिधिसभा निर्वाचन नजिकिएको सन्देश मात्र दिएको छैन, उम्मेदवारहरूलाई सिधा प्रश्न पनि तेस्र्याएको छ — ‘हाम्रा माग कहिले पूरा हुन्छन् ?’
व्यावसायिक प्रयोजनका लागि नभई उम्मेदवारलाई लक्षित गरी राखिएको उक्त बोर्डमा १८ बुँदे माग समेटिएका छन् । विसं २०५८ देखि यहाँ ६४८ मुक्त कमैया परिवार बसोबास गर्दै आएका छन् । बाध्यकारी श्रम प्रथाबाट मुक्त गरिए पनि अढाइ दशक बित्दा समेत आधारभूत अधिकार र सेवाबाट वञ्चित हुनुपरेको बस्तीबासीको गुनासो छ ।


पुनःस्थापनाका क्रममा पाएको पाँच कट्ठा जमिन लालपुर्जामा परिणत नभएको, धितो राख्न वा बिक्री गर्न नपाइने कानुनी सीमाले आर्थिक गतिविधिमा अवरोध पुगेको ५० वर्षीय जोगिराम डगौराले बताए। “उद्यम गर्न चाहँदा पनि कानुनी व्यवस्थाले रोक्छ, यसको अन्त्य हुनुपर्छ,” उनले भने ।
शुद्ध खानेपानीको अभाव बस्तीको अर्को गम्भीर समस्या हो । हालसम्म हेण्डपम्पकै पानी प्रयोग गर्नुपरेको र त्यसमा आर्सेनिक तथा आइरनको मात्रा बढी रहेको स्थानीयको भनाइ छ । स्वास्थ्य उपचार पूर्ण रूपमा निःशुल्क हुनु पर्ने माग पनि कार्यान्वयनमा नआएको महिलाहरूले बताएका छन् ।
घरकटुवा र सनबोरा नदीले बर्सेनि कटान गर्दै आएको भन्दै स्थानीय मायादेवी चौधरीले तटबन्ध निर्माणको माग वर्षौँदेखि बेवास्ता भएको गुनासो गरिन् । वर्षायाममा बस्तीबासी त्रासमा बस्नुपर्ने अवस्था रहेको उनले बताइन् ।

