

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का एमाले उम्मेदवार तारालामा तामाङ्गका लागि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा २०७९ का जित दोहोरयाउने लक्ष्य लिएर चुनावी मैदानमा होमिएका छन् । उनी २०७९ मा काँग्रेस माओवादी केन्द्र गठबन्धन पराजित गरी साँसद भएका हुन् ।
चुनाव नजिकिँदै जाँदा उनले प्रचार–प्रसार र संगठन परिचालनलाई तीव्र बनाएका छन्। पहिलो कार्यकाल पूरा गर्न नपाउँदै संसद् विघटन भई पुनः निर्वाचनको अवस्था सिर्जना भएकाले अधुरा काम पूरा गर्ने प्रतिबद्धतासहित उनी मतदातासँग मत मागिरहेका छन् ।

अनुभवी र अवसर पाए काम गर्न सक्ने ‘टेस्टेड’ नेता भएकाले उनी चुनाव जित्नेमा आशावादी देखिन्छन् । अघिल्लो प्रदेश सभा सदस्यमा निर्वाचित हुदाँ कामबाटै आफुलाई प्रमाणित गरेका तामाङ विगतकै अनुभव र दक्षिणी क्षेत्रको विकास एजेण्डा लिएर चुनावमा होमिएका छन् ।
पार्टीको ग्रासरुटबाटै आएका उनी २०२५ भदौ २५ गते खनियाबास गाउँपालिका–२, झार्लाङमा जन्मिएका हुन् भने हाल पुनर्वास नगरपालिका–३, रामबस्तीका स्थायी बासिन्दा हुन् ।
साधारण किसान परिवारमा हुर्किएका उनले स्नातक तहसम्म अध्ययन पूरा गरेका तामाङ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार बनेका छन् । सिद्धनाथ विज्ञान क्याम्पसमा आइएस्सी पढ्दापढ्दै राजनीतिमा होमिएका उनले केही समय शिक्षण पेशा गरेका थिए ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय तामाङ कक्षा ९ मै २०४३ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य बनेका थिए भने २०४७ सालमा जिल्ला कमिटी सदस्य बनेका थिए । २०४८ सालमा एमालेको सदस्यता लिएका उनले १८ वर्षकै उमेरमा २०४९ सालको आम निर्वाचन र स्थानीय तह निर्वाचनमा प्रचार संयोजकको जिम्मेवारी सम्हाले ।

२०५१ देखि २०५४ सालसम्म शिक्षण पेसामा आबद्ध रहेका तामाङले पछि पूर्णकालीन राजनीतिमा आफूलाई समर्पित गरे। २०५४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन कालिका गाविसको अध्यक्षमा निर्वाचित हुँदा उनी सुदूरपश्चिमकै कान्छा गाविस अध्यक्ष बनेका थिए । त्यसपछि पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै जिल्ला कमिटी सल्लाहकार, क्षेत्रीय सचिव, जिल्ला कमिटी सचिव हुँदै अध्यक्षसम्मको जिम्मेवारी सम्हाले ।
एमाले–माओवादी एकतापछि बनेको नेकपामा पनि सह–संयोजकको भूमिका निर्वाह गरेका उनले सहकारी क्षेत्रसँग जोडिएर राष्ट्रिय सहकारी विकास बोर्डमा समेत काम गरेका छन्। एमालेको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि रहेका उनीसँग स्थानीय तहदेखि प्रदेश र सङ्घीय संसदसम्मको अनुभव छ ।
२०७४ सालमा सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित तामाङ एमाले संसदीय दलका प्रमुख सचेतक बने। २०७८ सालमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिलामन्त्री नियुक्त भई पूर्वाधार विकासमा प्राथमिकता दिएका थिए। पछि पार्टी विभाजनका क्रममा केही समय नेकपा एकीकृत समाजवादीमा रहे पनि पुनः एमालेमै फर्किएका उनी २०७९ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।
त्यस निर्वाचनमा उनले २४ हजार ९४३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी बिना मगरले १९ हजार ४०० मत ल्याएकी थिइन्। यसपटक कञ्चनपुर–१ मा तामाङसँगै पूर्वमन्त्री बिना मगर, नेपाली कांग्रेसका गोपी उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीका जनक धामीसहित १९ जना उम्मेदवार मैदानमा छन् ।
तामाङ भन्छन्, “धेरै योजना अधुरा छन् । कतिपय काम वर्तमान सरकारले रोकेको वा रद्द गरेको छ। केन्द्रसँग समन्वय गरी अघि बढाइएका योजनासमेत प्रदेश सरकारले पूर्वाग्रही रूपमा रोकिदिएको छ । ती काम पूरा गर्नुपर्नेछ।”
उनका अनुसार कञ्चनपुरमा महाकाली नदीभन्दा पनि दोदा नदी नियन्त्रण ठूलो चुनौती हो । चुरे पर्वतदेखि भारत सीमासम्म फैलिएको ४३ किलोमिटर लामो दोदा नदीबाट हुने कटान–डुबान मुख्य समस्या भएकाले यसको गुरुयोजना अघि बढाइएको उनले बताए। साथै चौधर र झरना खोला नियन्त्रण, सीमा समस्या, लागुऔषध नियन्त्रण, आरक्ष विस्थापित तथा अव्यवस्थित बसोबासीका समस्या समाधानमा आफूले पहल सुरु गरिसकेको दाबी गर्छन् ।
दक्षिण क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, अधुरो बोर्डर करिडोर पूरा गर्ने तथा स्थानीय उद्योग, विशेषगरी चिनी मिलमार्फत रोजगारी र आर्थिक लाभ विस्तार गर्ने उनको योजना छ । यद्यपि व्यक्तिगत एजेन्डाभन्दा पनि स्थानीय जनताका मुद्दा र पार्टीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय दृष्टिकोण नै आफ्नो मुख्य एजेन्डा भएको तामाङको भनाइ छ ।

