
डा. भट्टका त्यति बेलाका यस्ता प्रयासले यसरी अघि बढेको थियो लफडामा फसेको दोधारा चाँदनी सुख्खा बन्दरगाह

महेन्द्रनगर । कञ्चनपुर ३ का एमाले उम्मेदवार डा. दिपक प्रकाश भट्टको २०७४ को आम निर्वाचनमा दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माण कार्य अघि बढाउने प्रमु्ख चुनावी एजेण्डा थियो ।
दोधारा चाँदनी नगरपालिका ७ कञ्जमा २०६६ मा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव गरिएको थियो । डा. भट्ट तत्कालिन वाम गठबन्धनमा एमालेबाट प्रतिनिधि सभा सदस्य चुनाव लडेका थिए ।

डा. भट्ट २०७४ को आम निर्वाचित भएपछि चुनावी वाचा अनुसार सुख्खा बन्दरगाह निर्माण कार्य अघि बढाउन तत्कालिन भारतीय राजदूत सहित मन्त्री, प्राविधिक र सरोकारवालाको टोली लगेर अध्ययनका लागि कञ्चजभोज पुगे ।
सुख्खा बन्दरगाह बनाउन जग्गा नदिने भन्दै असन्तुष्ट वासिन्दाले टोली पुग्ने बित्तिक्कै विरोध र ढुङ्गामुढा प्रहार गरेका थिए । स्थानीय सुख्खा बन्दरगाह प्रस्ताव भएपछि त्यसको विरुद्ध देखिएका थिए ।
स्थानीयको विरोधपछि राजदूत सहितको टोली फर्कियो । सुदूरपश्चिम प्रदेशको आर्थिक विकासको ठूलो योजना गुम्ने खतरा देखेपछि तत्कालिन साँसद भट्टले स्थानीय जनप्रतिनिधिलाई देशका अन्यत्र सुख्खा बन्दरगाह लगेर अध्ययन गराउने र त्यसलाई अर्को स्थानमा लगेर अघि बढाउने सोच बनाए ।
डा. भट्टले दोधारा चाँदनी नगरपालिकाका तत्कालिन मेयर बीर बहादुर सुनार, उप मेयर चिनी गिरी सहित सबै १० वडाका अध्यक्षलाई बीरगञ्ज लगेर सुख्खा बन्दरगाह अध्ययन गराएका थिए ।
जनप्रतिनिधिलाई बीरगञ्ज पुगाएपछि कञ्चभोजमा प्रस्ताव गरिएको सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकी दोधारा चाँदनी नगरपालिका १ मा स्थानान्तरण गरिएको हो ।
अहिले ठेक्का भएर सुख्खा बन्दरगाह निर्माण कार्य अघि बढेको छ । गत भदौमा सुख्खा बन्दरगाह निर्माणको साइट क्लियर गर्ने कार्य सुरु गरिएको थियो । नेपाल भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम जेन जी आन्दोलनपछि रोकिन पुगेको हो ।
बिहीबार चुनावी प्रचारका क्रममा डा. भट्टले दोधारा चाँदनी नगरपालिका १ का मतदातालाई सुख्खा बन्दरगाह निर्माण अघि बढाउन गरिएका प्रयास सम्झाएका छन् ।
‘एउटा पाठ हामीलाई सिकाउनु भो, त्यति बेला प्रमुख बीर बहादुर सुनार, उप मेयर चिनी गिरी र १० ओटै वडाका वडा अध्यक्षज्यूहरु बीरगञ्ज लगेर सुख्खा बन्दरगाह के हो, कसरी बन्छ र एकीकृत जाँच चौकी भनेको के हो कसरी बनाउनु पर्छ भन्ने कुराका लागि पूरै टीम लगेर मैले भेटघाट गराए, जानकारी लिए’ दोधारा चाँदनी १ खैराडी टोलमा मतदातासित भेटघाट कार्यक्रममा उनले भने, ‘त्यो त्यहाँ देखि सकेपछि त्यसको महत्व ठूलो खालको व्यापारिक केन्द्र बन्ने रहेछ, यहाँ रोजगारीहरु आउने रहेछ, आर्थिक गतिविधि हुने रहेछन्, होटल व्यवसाय फस्टाउने रहेछ, अरु कारोबार पनि हुने रहेछ , यो व्यापारको केन्द्र बनाउने योजना रहेछ भनेर वहाँहरुले महसुस गर्न भयो र ढिलो गरी यहाँका सामुदायिक वनसित पटक पटक छलफल गरेपछि त्यो काम अगाडि बढेको हो ।’
सुख्खा बन्दरगाह बनाउन कञ्जभोजमा धेरै पटक छलफल भए पनि सफल हुन नसकेको भट्टले सुनाए ।

‘कञ्चभोजमा पटक पटक छलफल भयो, त्यहाँका वासिन्दा समुदायसित छलफल गरियो, बन्द गर्ने, ढुङ्गामुढा गर्ने, विभिन्न कामहरु भए, सोचेको त यहाँ सिधैं ६ लेनको बाटो लगेर खटिमासम्म पुगाउने थियो, त्यो पूरा हुन सकेन । त्यसले त्यो काम सफल पनि भएन’ उनले भने ।
डा. भट्टले कञ्जमा भोजमा सुख्खा बन्दरगाह निर्माण अघि बढाउन तत्कालिन मन्त्रीहरुलाई पटक पटक ल्याएर छलफल गरिएको बताए ।
‘मातृका यादव जीलाई ल्याइयो, लेखराज भट्टजी हुनु भयो त्यो मन्त्रालयमा वहाँलाई पनि ल्याइयो, यसरी पटक पटक छलफल गरी अरु अरु मन्त्री हुँदा रिजालजी मन्त्री हुँदा, दामोदर भण्डारी मन्त्री हुँदा वहाँहरुलाई ल्याउने र छलफल गर्ने काममा निरन्तर लागेको थिए’ उनले भने ।
सुख्खा बन्दरगाह कहाँ बनाउने भन्ने कुराको छलफलमै आफूले धेरै समय दिएको भट्टले बताए ।
अहिले सुख्खा बन्दरगाह निर्माण कार्य सुरु भएको र त्यसलाई निर्धारित समयमा सम्पन्न गरी दोधारा चाँदनीलाई आर्थिक हब बनाउने कार्यमा आफू सक्रिय भएर लाग्ने बताए ।
सुख्खा बन्दरगाह निर्माण भएपछि नेपाल भारत र चीनको त्रिदेशीय नाका रुपमा विकास हुने डा. भट्टले उल्लेख गरे ।
भारतले आगामी तीन वर्षमा बनाइदिने सहमति पत्र (ओएमयू) मा हस्ताक्षर गरेपछि गत भदौमा ठेक्का भएर सम्झौता गरिएको थियो ।
सुदूरपश्चिम प्रदेशको आर्थिक स्मृद्धिमा भरपुर सहयोग पुग्ने सुक्खा बन्दरगाह सञ्चालन, कञ्चनपुरलाई नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाकाका रुपमा विकास गर्न खोजिएपछि स्थानीय हर्षित भएको एमाले दोधारा चाँदनी इन्चाजृ गगन खत्रीले बताए ।
दोधारा चाँदनी नगरपालिकाको गौरीशङ्कर र मायापुरी सामुदायिक वन क्षेत्रको दुई सय ८० बिघा जमिन अधिग्रहण गरी सुक्खा बन्दरगाह निर्माण कार्य थालिएको छ ।
झण्डै ६ अर्ब लागतमा चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण हुनेछ ।
सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्न आइसिपी निर्माण हुन लागेको हो । सोही सुक्खा बन्दरगाहको करिब एक किलोमिटर वर महाकाली नदीमा चार लेनको पक्की पुल र ६ लेनको पहुँच मार्गसमेत निर्माण भइसकेको छ ।
पहिलो चरणमा सडक सञ्जाल र दोस्रो चरणमा रेलवे कनेक्सन निर्माण गरिने योजना छ । वनको ४० हेक्टर क्षेत्रफल रहेको जग्गामा निर्माण हुन लागेको आइसिपीमा दुईवटा गोदाम भवन, भन्सार चेक जाँच, क्वारेन्टिन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायतका अन्य पूर्वाधार निर्माण हुनेछन् ।
