

महेन्द्रनगर । कञ्चनपुर ३ का एमाले उम्मेदवार डा. दिपक प्रकाश भट्ट सोमबार अन्तिम चुनाव प्रचारमा दिनभर व्यस्त भएका छन् । डा. भट्ट अन्य दिनझै सोमबार पनि चुनाव प्रचारमा व्यस्त भएर मतदाताको घरदैलोमा पुगेर सहयोगका लागि आग्रह गरे ।
दिनभर प्रचारपछि साँझ उम्मेदवार भट्टले आफूले चुनाव प्रचार उत्साहजनक देखिएको बताए । ‘गत विगतको भन्दा चुनाव प्रचार केही फरक छ, मलाई त यो चुनाव प्रचार निकै उत्साहजनक लाग्यो’ उनले भने ।

यस पटक प्रचारमा मतदाताले सचेत भएर कुराकानी गरेको र डिजिटल प्रविधिका कुरा आएको बताए ।
त्यस बाहेक उनले मतदाताले चुनावमा सहभागी सबै राजनीतिक दल र उम्मेदवारका कुरा गरेको तथा स्थानीय मुद्दालाई प्राथमिकता दिएर राखिएको बताए । डा. भट्ट यस अघि कञ्चनपुर ३ बाट २०७४ को आम निर्वाचनमा निर्वाचित भएका हुन् ।
चार दशकदेखि राजनीतिमा सक्रिय उनी फागुन २१ गतेको प्रचिनिधि सभा सदसय निर्वाचनबाट संसद जाने लक्ष्य बोकेर मैदानमा छन् ।
पुख्र्यौली घर बैतडी भएका भट्टको जम्न २०२९ साउन २७ गते बैतडी दशरथ चन्द नगरपालिका–१ देबलहाटमा भएको हो । भीमदत्त नगरपालिका–६ बस्ने उनी विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय छन् ।
२०४६ को जनआन्दोलन अघि नै भट्टको राजनीतिक यात्रा सुरु हो । घर परिवारको राजनीतिक वातावरणमा सानैदेखि घुलमिल भएका उनले २०४३ देखि तत्कालिन (माले) को विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतक यात्रा सुरु गरेका हुन् ।
२००७ सालको क्रान्तिका अगुवा स्वर्गिय दत्तराम भट्टबाट प्रेरित भएर राजनीतिमा आएका हुन् । ६ महिना डोटी जेल बसेका स्वर्गिय भट्ट उनका ठूलो बुवा हुन् । ‘घरमा राजनीतिक वातावरण थियो, त्यसबाट सानैमा प्रभावित भए’ उनले भने ।
एमालेका विदेश विभाग सदस्य भट्ट पार्टीमा स्वच्छ छवि, बौद्धिक व्यक्तित्व, परराष्ट्र र सुरक्षा नीतिका जानकार नेता हुन् ।
दार्चुलाको लटिनाथ माध्यमिक विद्यालय मार्माबाट प्राथमिक शिक्षा हासिल गरेका भट्टले महेन्द्रनगर मावि(साधरण) बाट प्रवेश उत्तीर्ण गरेका हुन् ।
लटिनामा कक्षा १–५ र बैजनाथ माविमा कक्षा ७–८ सम्म अध्यन गरेका थिए । विज्ञान र राजनीति शास्त्रका स्नात्तकोत्तर भट्टले जवाहरलाल नेहरु विश्विद्यालयबाट अन्र्तराष्ट्रिय सम्बन्ध र सुरक्षामा विद्यावारिध(पिएचडी) गरेका छन् ।

औपचारिक शिक्षा बाहेक उनले देश विदेशमा विभिन्न शैक्षिक अध्ययन र अनुसन्धानमा सहभागी भएका छन् । विश्वका विभिन्न १६ देशका प्राध्यापकसंग टोलीमा सहभागी भएर ६ महिनासम्म अमेरिकाको विदेश नीति अध्ययन गरेका छन् ।
उनले ६ महिने उच्च स्तरको सुरक्षा समन्वय तालिम लिएका छन् । एसिया र दक्षिण एसियाका सुरक्षा तथा विदेश नीति सम्बन्धिका विभिन्न तालिम र गोष्ठीमा सहभागी हुने मौका पाएका छन् ।
भारतको पिथौरागढस्थित जिओसी कलेजमा अखिल भारतीय नेपाल स्ववियु(अभानेस्ववियु) को सदस्य भएर दुई कार्यकाल जिम्मेवारी वहन गरेका थिए । एक कार्यकाल अभानेस्ववियुको नगर अध्यक्ष समेत भएका थिए । आइ.एस्सी.देखि एम.एस्सी .सम्म पिथौराढमा अध्ययन गरेका हुन् ।
२०५२ मा एमालेको नगर कमिटीमा आएका उनी त्यस यता पार्टीका विभिन्न जिम्मेवारीमा बसेका नेता हुन् । नगर कमिटी सचिवबाट जिल्ला सदस्य हुँदै उनी केन्द्रीय तहमा पुगेका छन् । एमाले विदेश विभाग सदस्य हुन अघि सम्पर्क समनवय कमिटी सदस्य र केन्द्रीय सम्पर्क विभाग सदस्य भएका थिए ।
उनी अभानेस्ववियुको अध्यक्ष हुँदा उनी स्वत राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए । उनी २०५८ देखि २०६५ सम्म भारत प्रवास अञ्चल समन्वय समिति सदस्य भए ।
राजनीतिक अधिकार प्राप्तिको २०४६ र २०६२÷०६३ को जन आन्दोलनमा सहभागी उनले सीमा अतिक्रमण विरुद्ध दुई दशक अघि पैदल मार्च गरेका व्यक्ति हुन् ।
दुई दशक अघि सीमा अतिक्रमण विरुद्ध दोधारा चाँदनीबाट कुतियाकवर कालापानी मार्च गरिएको थियो । २३ दिने मार्चका क्रममा उनले राजीनीतिको उच्च तहमा पुगेर सीमा समस्या समाधान गर्र्ने लक्ष्य बनाएका हुन् ।
अहिले उनी त्यही भूमिमा उम्मेदवार भएर वासिन्दाको घरदैलोमा पुगेका छन् । सेना समायोजन समितिको सदस्य हुँदा तत्कालिन प्रधानमन्त्रीहरु तत्कालिन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टसित नजिक रहेका कार्य गरेका हुन् ।
२०६६ देखि चार वर्ष समिति बसेर माओवादी लडाकूको व्यवस्थापनमा डा. भट्टको भूमिका सक्रिय थियो । यस बाहेक सुरक्षा अधिकारी र विभिन्न दलका नेताहरुसित पनि नजिक बसेर अनुभव लिएका छन् ।
परराष्ट्र नीति पुनरावलोकन उच्च स्तरीय कार्य दलमा वसेर विदेश नीति बनाउन उनको भूमिका छ । सरकारले अमेरिकाका लागि पूर्व राजदूत डा. शंकर शर्माको संयोजकत्वमा कार्य दलका बनाएको थियो ।
अमेरिका सहित विश्वका ४० भन्दा बढी देशको भ्रमण गरेका उनले ती देशको शैक्षिक विकासको क्रम अध्ययन गरेका छन् । अमेरिकाको हावर्ड विश्वविद्यालय, अक्सफोर्ड, न्यूयोर्क कलेजका विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।
सानैदेखि राजनीति आबद्ध भट्ट जीवनमा आफ्नो क्षमता र अनुभव जनतासम्म पुगाएर कञ्चनपुर क्षेत्र नं. ३ लाई विकास र समृद्ध बनाउने बताउँछन् ।

