

महेन्द्रनगर । आदिवासी पहिरनमा चिटिक्क सजिएकी केही दिन अघि एक विद्यालयमा भन्दै थिइन्– ‘ढिग्री खाने हो ?’ थारु समुदायको लोकप्रिय परिकार ढिग्री ाख्न आग्रह गर्ने ती किशोरी भीमदत्त नगरपालिका–४ भागतपुरकी पुष्पा गुरुङ हुन् ।
कक्षा १२ मा होटल म्यानेजमेन्ट अध्ययनरत पुष्पालाई पहिलो नजरमा धेरैले थारु समुदायकी ठान्न सक्छन्। तर उनी गुरुङ समुदायकी हुन् ।
मंगलबार वेस्टर्न पब्लिक एकेडेमी महेन्द्रनगरले आयोजना गरेको फेष्ट–२०८२ मा स्वागत गेटबाट छ नम्बर स्टलमा चौधरी पोशाकमा सजिएका विद्यार्थीहरूको समूहले सबैको ध्यान तानेको थियो । त्यही समूहमा पुष्पा पनि थिइन् ।
पुष्पासँगै उनकी साथी आशिका चौधरी, कक्षा ९ मा अध्ययनरत आकाश चौधरीलगायत विद्यार्थीहरूले राना थारु संस्कृति, परिकार र रहनसहनको प्रचारप्रसार गर्ने उद्देश्यले राना थारु स्टल राखेका थिए ।
फुडफेष्टको अवसरलाई सदुपयोग गर्दै राना थारु संस्कृतिको प्रचार गर्न स्टल राखिएको पुष्पा गुरुङले बताइन् ।

उनले भनिन्, “राना थारु संस्कृतिको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न सामग्री प्रदर्शनमा राखेका छौं । राना थारु समुदायले खाने परिकारदेखि चाडपर्वमा प्रयोग हुने सामग्री पनि राखेका छौं । यसबाट अन्यलाई पनि राना थारु संस्कृतिबारे जानकारी हुन्छ ।”
त्यस्तै फेष्टमा नवौं स्टलमा कक्षा ७ मा अध्ययनरत हिमांशु जोशी र उनका साथीहरू शेखर नेगी, मोहन जोशी, सुबोध फराल, कृष्ण भट्ट, आशि डगौरा र आदित्य ऐरीले बगैंचाको नमुना भित्र इलेक्ट्रोनिक कार बनाएर प्रदर्शन गरेका थिए।
युट्युब हेरेर तयार गरिएको उक्त कार बनाउन ब्याट्री, मोटर, तार, स्विच र कलर जस्ता सामग्री प्रयोग गरिएको हिमांशुले बताए ।
उनले भने, “युट्युब हेरेर बनाएको यो कार बनाउन दुई सय रुपैयाँभन्दा बढी खर्च भएको छ ।”
विद्यार्थीहरूले कारसँगै त्यही स्थानमा मिनी चिडियाखानाको नमुना पनि बनाएका थिए । कार्यक्रममा पहाडी समुदायको संस्कृति झल्किने स्टल समेत राखिएको थियो भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार पनि वितरण गरिएको थियो ।
उक्त फेष्टमा विद्यार्थीहरुले आफैले बनाएका परिकार राखिएका स्टल, अन्य कला संस्कृति र विज्ञानका आविष्कारसम्बन्धी सामाग्री राखिएका थिए ।
कार्यक्रममा विभिन्न कला संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका छन् । विद्यालयका प्रिन्सिपल बिर्ख बहादुर कलौनीका अनुसार बालबालिकालाई संस्कृति, कला तथा आइटी क्षेत्रबारे जानकारी दिने र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले फेष्ट आयोजना गरिएको हो । उनले भने, “फेष्टमा विभिन्न विधाका १६ वटा स्टल राखिएका छन्।”
फेष्ट को अभिभाबक, शिक्षक, विद्यार्थीहरुले अवलोकन गरेका थिए । आगामी शैक्षिक शात्रबाट ०८३ देखि स्पोट्र्स साइन्सको पढाइ हुने विद्यालयका संचालक बिर्ख बहादुर मल्लले बताए ।
संचालक मल्लले अहिले साधारणका साथै प्राविधिक धार तर्फ होटल म्यानेजमेन्टका कक्षा संचालन भईरहेको उल्लेख गरे ।
