

महेन्द्रनगर । कञ्चनपुर एमालेभित्र इन्चार्ज निरुदेबी पाल र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिह रावलका दुई गुट छन् । तत्कालिन नेकपा विघटन हुन अघिसम्म पाल र रावलको एकै गुटमा थिए । उनीहरु पार्टी अध्यक्ष केपी शर्मा ओली गुटमा थिए । त्यति बेला नेकपाभित्र माधव नेपाल र प्रचण्डको अर्को गुट थियो ।
कञ्चनपुर एमालेमा नेकपा बन्न अघि माधव नेपाल गुट हावी थियो । पाल र रावल त्यस बेला ओली गुट प्रमुख नेताका रुपमा मानिन्थे । नेकपा विघटन भएर एमाले माओवादी अलग भएपछि उनीहरुले माधव नेपाल र प्रचण्ड गुटका नेताहरुलाई आफूहरुसित ल्याएर आ–आफ्ना गुट बनाएका हुन् । अहिलेसम्म यी दुबै गुट कञ्चनपुर एमालेभित्र सक्रिय छन् ।

एमाले कञ्चनपुरको पार्टी, जन वर्गीय संगठन, प्रतिनिधि चयन, राजनीतिक नियुक्ति र टिकट सबैमा दुई गुटको लडाई छ । एमालेको आठौं जिल्ला अधिवेशनबाट सुरु गुटको लडाई पछिल्लो पटक सुदूरपश्चिम सरकारका राजनीतिक नियुक्तिसम्म पुगेर बल्झिएको छ ।
एमाले सुदूरपश्चिम संसदीय दलका रावललाई हटाउनु पर्ने माग राखेर प्रदेश कमिटी केन्द्रीय कार्यालय पुगेको छ । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण जैसीले संसदीय दलका नेता रावल सम्पर्कमा नभएको भन्दै खोजीका लागि केन्द्रीय कार्यालयसित आग्रह गरेका छन् ।
रावलले असपताल व्यवस्थापन समिति अध्यक्ष नियुक्तिमा पार्टीसित सल्लाह र समन्वय नगरी एकलौटी गरेको भन्दै प्रदेश कमिटी असन्तुष्ट बनेको छ ।
प्रदेश कमिटीले खोजीका लागि केन्द्रमा पत्र पठाएका रावलको संसदीय दलको कार्यालयमा राष्ट्रिय युवा संघको कार्यकर्ताले तालाबन्दी गरेका छन् ।
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्तिपछि कञ्चनपुर एमालेका नेता कार्यकर्ता सामाजिक सञ्जालबाट आक्रोश पोखेका छन् ।
आक्रोश पोख्ने सबै निरु पाल गुटका नेता कार्यकर्ता छन् । रावल गुटले सामाजिक सञ्जालमा त्यसको प्रतिकार गरि रहेको छ ।
सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयले चैत १ र ५ गते महाकाली सहित पाँच अस्पतालमा पदाधिकारी नियुक्त गरेको थियो ।
तीन अस्पतालमा टिकापुर अस्पताल, लम्की चुहा, जोगबुडा र महाकाली प्रादेशिक र सेती प्रादेशिक अस्पताल छन् । महाकाली र टिकापुर एमाले र अन्य तीन अस्पताल काँग्रेसको भागमा छन् ।
महाकाली प्रादेशिक अस्पतालका लागि एमाले कञ्चनपुरले भीमदत्त नगर कमिटी अध्यक्ष हिमाल चन्दको नाम सिफारिश गरेका थियो ।
नगर कमिटी अध्यक्ष निरु पाल गुटका हुन् । पाल र चन्द दुबै भीमदत्त नगरपालिका १७ का वासिन्दा हुन् । एमाले कञ्चनपुरले अनौपचारिक रुपमा छलफल गरी चन्दलाई सिफारिश गरेको थियो ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पनि अध्यक्षका आकाँक्षी थिए । एमाले जिल्ला कमिटीले पन्तलाई रोक्न नाम सिफारिश नगरी रोकेको थियो ।
लक्ष्मी बुढा नेतृत्वको कञ्चनपुर एमालेमा पार्टी र जन संगठन सबैमा पाल गुट हावी छ । जिल्ला कमिटीमा पाल गुट हावी भएपछि रावल गुटका नेता सिफारिश हुन नसकेका हुन् ।
रावल आफंै संसदीय दलका नेता भएपछि जिल्ला कमिटीको सिफारिश नहेरी पन्तलाई महाकाली प्रादेशिक अस्पताल अध्यक्ष बनाएका छन् । आइतबार पन्तको पदभार ग्रहण कार्यक्रममा रावल आफैंले सहभागी भएर बधाई दिएका छन् ।
पूर्व मुख्यमन्त्रीको हैसियतामा रावल कार्यक्रममा सहभागी भएका हुन् । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमल बहादुर शाह अघि रावल एक महिना मुख्यमन्त्री भएका हुन् ।

यस अघिका जिल्ला समस्या समाधान आयोग कञ्चनपुर र सुदूरपश्चिम सरकार नीति तथा योजना आयोग सदस्य नियुक्ति पनि पार्टीभित्र विवादित भएका छन् ।
एमाले केन्द्रीय उप महासचिव लेखराज भट्टले भूमि समस्या समाधान समिति कञ्चनपुर अध्यक्ष र संसदीय दलका नेता रावलले नीति तथा योजना आयोग सदस्य बनाई सकेका छन् ।
संसदीय दलका नेता रावलले पार्टीभित्र सल्लाह नगरी सुटुक्क डा. हिरा चन्दलाई योजना आयोग सदस्य बनाएका थिए ।
एमालेको बुद्धिजीवि संगठन आवद्ध चन्दलाई गत वर्ष सदस्य नियुक्ति गरिएको थियो ।
चन्दले पद तथा गोपनियताको शपथ लिएपछि एमाले कञ्चनपुरले राजनीतिक नियुक्तिबारे जानकारी पाएको थियो ।
एमाले कञ्चनपुरले गत वर्ष पुसमा भूमि आयोग कञ्चनपुरको अध्यक्षका लागि सात जानको नाम प्रदेश कमिटीमा सिफारिश गरेको थियो ।
सिफारिश हुनेमा ईश्वरी खरेल, कमला बोहरा, कर्ण चन्द, पल्लवराज भट्ट, जनकराज अवस्थी, गगन खत्री र लक्ष्मी भट्ट थिए ।
एमाले सुदूरपश्चिम प्रदेशका तत्कालिन इन्चार्ज लेखराज भट्टले खेम सुवेदी र नेत्रप्रकाश पन्तको नाम थप गरी केन्द्रमा नाम सिफारिश गरेको थियो ।
प्रदेश कमिटीबाट सिफारिश गरिएका नामबाट नेत्र प्रकाश पन्तलाई आयोगको अध्यक्ष बनाइएको थियो ।
एमाले संसदीय दलका नेता रावलले सुरुमा कर्ण चन्द र प्रदेशबाट सिफारिशपछि सुवेदीलाई अध्यक्ष बनाउन लबिङ्ग गरेका थिए । एमाले तत्कालिन इन्चार्ज भट्टले अध्यक्षमा पन्तलाई नियुक्ति दिए ।
भूमि आयोग अध्यक्ष नभएपछि पार्टीभित्र असन्तुष्ट बनेका चन्द फागुन २१ गतेको चुनावमा पार्टी छाडेर नेकपा संयुक्तबाट उम्मेदवार भएका छन् ।
एमाले कञ्चनपुरका पूर्व उप सचिव चन्दलाई नवौ जिल्ला अधिवेशनम सर्वसम्मत बनाउन रावलले अध्यक्ष ओलीसित भेट गराएर आयोगमा नियुक्ति दिने आश्वासन दिएका थिए ।
दुई वर्ष अघि एमाले नवौ अधिवेशन उद्घाटनका लागि ओली महेन्द्रनगर आएका थिए ।
अध्यक्ष ओलीले अध्यक्षमा लक्ष्मी बुढा र सचिवमा पल्लवराज भट्टलाई समेटेर नयाँ कमिटी बनाउन निर्देशन दिएपछि चन्द लगायत नेताहरुको व्यवस्थापन अप्ठेरोमा परेको थियो ।
उपाध्यक्ष उम्मेदवार चन्दले चुनाव नहुने भएपछि पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । त्यसपछि रावलले उनलाई बोलाएर ओली भेट्न परशुराम पुगाएका थिए । ओली एमाले डडेल्धुरा अधिवेशनका लागि परशुराम पुगेका हुन् ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटी अधिवेशनसम्म लेखराज भट्ट र कर्ण थापाका दुई गुुट थिए । प्रदेश अधिवेशनमा लेखराज भट्ट र केन्द्रीय सदस्य दामोदर भण्डारी अलग भएपछि तीन गुट बन्न पुगे ।
त्यसपछि लेखराज गुटमा भएका रावल र भण्डारी अहिले एकै गुटमा छन् । पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीलाई नेतृत्वमा ल्याउन खोजेपछि कर्ण थापा पार्टीबाट किनारामा पुगेका छन् ।
एमाले ११ औं महाधिवेशनमा केन्द्रीय सचिव पराजित भएपछि उनी केन्द्रीय सदस्य मात्रै छन् । थापा भण्डारीतिर लागेपछि उनका गुटका नेता कार्यकर्ता तितरवितर हुन पुगेका छन् ।
रावल र भट्टले भूमि आयोग र योजना आयोगमा नियुक्ति लिइ सकेकाले महाकाली प्रादेशिक अस्पताल नियुक्ति पाल गुटका लागि प्रतिष्ठा बनेको थियो । त्यसका लागि जिल्ला कमिटीबाट एकल नाम सिफारिशको बाटो प्रयोग गरिएको थियो ।
संसदीय दलका नेता रावलले आफ्नो शक्ति प्रयोग गरी त्यसलाई असफल पारी आफ्नै गुटका नेतालाई नियुक्ति दिलाएका हुन् ।

