

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटस्थित मोहना नदीमा अवैध उत्खनन पुनः सुरु भएको पाइएको छ । वडाध्यक्ष कैलाश बलायरका अनुसार आफूले ठेक्का रोक्न पहल गरे पनि ठेकेदारले अटेर गर्दै पुनः उत्खनन कार्यलाई निरन्तरता दिएको बताएका छन् ।
उनका अनुसार राजघाट क्षेत्रमा आईई नगरी नै स्काभेटर प्रयोग गरेर धमाधम उत्खनन् भइरहेको छ । विशेषगरी मोहना पुल आसपास मापदण्डविपरीत ढुंगा, गिट्टी र बालुवा निकाल्ने काम भइरहेको जनाइएको छ ।


उक्त नदीजन्य पदार्थ उत्खननको ठेक्का साउन महिनामा लगाइएको थियो, जसको जिम्मा यमुना निर्माण सेवाले पाएको बताइएको छ ।
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्टले भने मापदण्डविपरीत भइरहेको उत्खनन रोक्ने प्रतिबद्धता जनाएका छन् । उनले भोलि नै अनुगमन टोली खटाएर छानबिन गरी आवश्यक कारबाही गरिने बताएका छन् ।
तर, यस विषयमा थप जानकारी लिन खोज्दा नगर प्रमुख, उपप्रमुख तथा इन्जिनियर सम्पर्कमा नआएको गुनासो गरिएको छ। स्रोतका अनुसार केही वन समिति तथा स्थानीय जनप्रतिनिधिहरू नै आर्थिक लाभ लिएर अवैध उत्खननमा संलग्न रहेको आरोपसमेत लागेको छ ।
अवैध उत्खननले स्थानीय तहमा नियमनको कमजोरी, वातावरणीय? मापदण्डको बेवास्ता तथा सम्भावित मिलेमतोको संकेत गरेको छ । साथै, यसले नदीको धार परिवर्तन भई आसपासका बस्तीमा डुबानको जोखिम बढ्ने चिन्तासमेत स्थानीयले व्यक्त गरेका छन् ।

