
गज्जर खोलामा बन्दै गरेको साढे चार करोडको पुलले उठीबास हुने चिन्तामा लालमनी, दैनिक धाउँदै छन् सरकारी अड्डा


महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ का लालमनी लुहारको घर नजिक गज्जर खोलामा पक्की पुल निर्माण कार्य थालिएको छ । भीनपा ८ लाई १० नम्बर वडासित जोड्न सुदूरपश्चिम सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत पूर्वाधार विकास कार्यालय कञ्चनपुरले पुल बनाउन लागेको हो ।
पुल निर्माणका लागि महरा न्यू जोशी जेभीसित गत आर्थिक वर्षको असार २६ गते ४ करोड ४९ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौतापछि असोजमा कार्यालयले कार्यादेश दिएपछि पुल निर्माण कार्य अघि बढेको हो ।
दुई वडा जोड्ने पक्की पुल निर्माण थालिएपछि गज्जर खोला किनार घर वस्ती भएका लुहार परिवार उठीबास हुने चिन्ताले पिरोलिएका छन् ।
पुल निर्माणले खोला साँघुरो भएर आफ्नो जमिन कटान भएर उठीबास हुने लुहारले बताए ।
‘यो पुल मेरो घर नजिक बन्दैछ, पुल बनेपछि यो साणो(साँघुरो बन्यो, त्योले जमिनमा डाइरेक्ट हान्ने भयो, त्यसले मेरो बचे खुचेको जग्गा र घर समेत बगाएर लैजान्छ’ लुहारले भने ।
खोला किनारमा लुहारको घर र जग्गा छ । १६ कट्टा जग्गामध्ये दुई कट्टा जग्गा खोलाले कटान गरि सकेको छ । खोलाले बर्सेनी जग्गा कटान गरी लुहारले जग्गा गुमाउँदै आएका छन् । खोला कटान गरी घर नजिक पुगेको छ ।

‘अहिलेसम्म कटान भएके थियो, अब त झन हुने हो, खोला जोडले चलेर झन कटान हुन्छ’ उनले भने,‘मेरो घर खेत केही पनि बच्दैन होला ।’
गज्जर खोलामा यस अघि सडक डिभिजन कार्यालयले बनाएको पक्की पुलको झण्डै सय मिटर दक्षिण अर्को पुल बनाउन लागिएको हो ।
स्थानीयले प्रयोग गर्दै आएको बाटो छाडेर कार्यालयले अर्को ठाउँमा पुल बनाउन थालिएको छ ।
लुहारले नक्सा भएको बाटो छाडेर बैकल्पिक बाटोमा पुल प्रयोग बनाएर आफ्नो उठीबास गर्न खोजिएको बताए ।

लुहारले पुलले आफ्नो उठीबास हुने चिन्ता लिएर पूर्वाधार विकास कार्यालय, वडा कार्यालय र प्रशासन कार्यालयसम्म गुहारेका छन् ।

प्रशासन र पूर्वाधार दुबै कार्यालयले उनले पुलले उठीबास हुन लागेको जानकारी गराउँदै खोला संरक्षणका लागि निवेदन दिएका छन् ।
‘मुलाई जाली हालि दिनु पणो, जाली नहालि दियो गोठ त चलि जाने हो, त्यसपछि मेरो घरलै चलि जाने हो’ उनले भने ।
पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी लक्ष्मण राज जोशीले लुहारले कार्यालयमा निवेदन दिएपछि कार्यालयले प्राविधिकलाई फिल्डको वास्तविक अवस्था जानकारी लिने कार्य गरिएको बताए ।
‘कार्यालयमा निवेदन आएको थियो, त्यसपछि हाकिम सापले फिल्ड प्राविधिकलाई स्थलगत अध्ययन गरी के कस्तो अवस्था छ, पुल निर्माण स्थल नजिक १०÷२० मिटरसम्म भए तारजाली लगाउन सकिन्छ भन्ने कुरा गर्न भएको थियो’ सूचना अधिकारी जोशीले भने,‘तर त्यो वहाँको घर त्यो भन्दा टाढा रहेछ, एक सय मिटर तलसम्म गएर त कार्यालयले गर्न सक्दैन ।’
कार्यालयले प्राविधिक जानकी बडैलालाई स्थलगत अध्ययनका लागि जिम्मेवारी दिएको थियो ।
पूर्वाधार विकास कार्यालयका तत्कालिन प्रमुख योगेन्द्र अधिकारीले पुल निर्माण ठेक्का लगाएका हुन् ।
अधिकारी अहिले भौतिक पूर्वाधार विकास मन्त्रालयमा छन् । तत्कालिन प्रमुख अधिकारीले भीनपा ८ र १० का जनप्रतिनिधिको सहमतिमा पुल निर्माण स्थल छनौट गरिएको बताए ।
‘भीनपा ८ का वडा अध्यक्ष र १० का वडा सदस्य हर्क गिरीज्यूसित सहमति गरी पुल निर्माण स्थल छानिएको थियो’ अधिकारीले भने,‘त्यो बेला यस्तो कुरा आएको थिएन ।’
५ करोड ६८ लाखको पुल निर्माण ठेक्का घटाघटीमा ४ करोड ४९ लाखमा सम्झौता भएको हो ।
सुदूरपश्चिम प्रदेश सभाका कञ्चनपुरका साँसदहरुको दबावमा गज्जर खोलामा अर्को पुल निर्माणको बजेट हालिएको छ ।
भीमदत्त नगरपालिका ६ एठेपुरका काँग्रेसका प्रदेश सभा सदस्य बहादुर सिह थापा सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री छन् ।
भीनपा ८ र १० दुबैमा अर्थ मन्त्री थापाको पार्टी काँग्रेसका नेता वडा अध्यक्ष र सदस्य छन् ।
