

महेन्द्रनगर । मुक्त हलिया समुदायलाई बाध्यकारी श्रम विरुद्ध जागरुक गराउन परिश्रम परियोजना सञ्चालन गरिएको छ ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघले अन्र्तराष्ट्रिय दातृ निकाय एक्सड एडको सहयोगमा कञ्चनपुरका सबै पालिकालाई मुक्त हलिया समुदाय लक्षित गरी दुई वर्षका लागि परियोजना सञ्चालनमा ल्याएको छ ।

सरकारले २०६५ भदौ २१ गते सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा वर्षौदेखि कायम हलिया प्रथा मुक्तिको घोषणा गरेको थियो ।
हलिया मुक्तिपछि मुक्त हलियाहरु मजदुरका काम संलग्न भएकाले उनीहरुलाई श्रम कानुन सम्बन्धि जागरुक, संगठित र श्रम अधिकार हकहितका लागि परियोजना सञ्चालन गरिएको महासंघका अध्यक्ष ईश्वर सुनारले बताए ।
‘मुक्त हुन अघि हलियाहरु साहुको घरमा हलि खलि गर्र्दै आएका थिए, मुक्तिपछि यो अवस्था फेरिएको छ, मुक्तिपछि उनीहरुका इटाभट्टा, घर निर्माण, होटेल पसल लगायत श्रम कानुन आकर्षित हुने ठाउँमा मजदुर बनेका छन्’ उनले भने,‘केही स्थानमा बाध्यकारी श्रम गर्न बाध्य छन्, त्यस कारण सबै पालिका, समन्वय समितिसित सहकार्य र समन्वय गरी मजदुर हक अधिकार संरक्षणका लागि यो परियोजना सञ्चालन गरिएको छ ।’
जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्य र विभिन्न पालिकाका प्रमुख उप प्रमुखको सहभागितामा कार्यक्रम गरी परियोजना सुरु गरिएको छ ।
समन्वय प्रमुख बोहराले कार्यक्रमको ब्यानर वाचन गरी उद्घाटन गरे । उनले श्रमको प्रकृति अनुसार श्रमिकमाथि फरक फरक व्यवहार हुने भएकाले श्रमिक हकहितका लागि सबै पालिकासित समन्वय गरी कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।
कार्यक्रममा महासंघका कार्यक्रम निर्देशक हरि सिह बोहराले परियोजना सम्बन्धि जानकारी दिए ।

कार्यकारी निर्देशक बोहराले देशभरका तीन जिल्लामा मुक्त कमैया, मुक्त हलिया र हरुवा चरुवाको बाध्यकारी श्रम सम्बन्धि अध्ययनले डरलाग्दो तथ्याङ्क बाहिर आएको बताए ।
उनका अनुसार अध्ययनमा मुक्त कमैया ८० प्रतिशत, मुक्त हलिया ६१ र हरुवा चरुवामा ८५ प्रतिशत बाध्यकारी श्रमको अवस्था देखिएको छ ।
समान काममा पुरुषको भन्दा महिलाले कम ज्याला पाउनु पर्ने अवस्था अध्ययनमा देखिएको बोहराले उल्लेख गरे । अध्ययनमा महिलाले पुरुष भन्दा ३३ प्रतिशत कम ज्याला पाउने गरेको देखिएको छ ।
कञ्चनपुर, बर्दिया र सप्तरीमा अध्ययन गरिएको थियो । ती तीन जिल्लाको सर्भेपछि कञ्चनपुरमा मुक्त हलिया समुदायका लागि परिश्रम परियोजना लागू गरिएको छ ।
‘यो परियोजनामा बाध्यकारी श्रम विरुद्ध लड्ने, मुक्त हलिया समुदायमा जागरण फैलाउने, संगठित गर्ने, उनीहरुका बाल बालिकालाई विद्यालय अध्ययनमा सहयोग गर्ने लगायतका कार्यक्रम गर्छौ’ उनले भने ।
कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका उप मेयर कल्पना पन्तले जिल्ला दररेट अनुसार निर्धारित ज्यालाले स्थानीय तहमा विवाद देखिएकाले समाधान हुनु पर्ने बताइन् ।
जिफन्ट कञ्चनपुरका अध्यक्ष भोज बहादुर ऐरले संगठन मजदुर हकहितका लागि सधै सक्रिय भएर लाग्ने बताए ।
कार्यक्रममा बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, जिल्ला समन्वय समिति उप प्रमुख रामकुमारी राना, दोधारा चाँदनीका उप मेयर गंगा जोशी, शुक्लाफाँटाका उप मेयर कल्पना पन्त, कृष्णपुरका उप मेयर द्रोपती राना, बेलौरीका उप मेयर जोगराम चौधरी, बेलडाँडीका उपाध्यक्ष शान्ति नाथ, पुनर्वासका उप मेृयर भुलिया राना, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष अमित तिरुवा लगायतका सहभागी भएका छन् ।
जिल्ला हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन अन्तराम ओडले गरे ।

