

महेन्द्रनगर । पाटन नगरपालिका–३ का २६ वर्षीय नरेश कोली शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आफन्तहरूले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि सोही वडाका दिपक भट्ट (२६) र दिनेश टेलर (३२) लाई मङ्गलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

नरेश चैत ४ गते बिहान पाटन नगरपालिका–६ स्थित भिटा नजिक सुर्नया नदी किनारमा मृत अवस्थामा फेला परेका थिए । अघिल्लो दिन उनी किनमेलका लागि पाटन बजार गएका थिए तर राति अबेरसम्म घर नफर्किएपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए। खोजतलासका क्रममा बिहान करिब ८ बजेतिर उनको शव भेटिएको थियो ।

घटनापछि आफन्तहरूले मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । मृतकका बुवा शेरि कोली भारतबाट फर्किएपछि घटनाको थप अनुसन्धान गर्न र नरेशसँग अन्तिम पटक देखिएका व्यक्तिहरूमाथि समेत गहिरो छानबिन गर्न आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भानदेव बडूका अनुसार पक्राउ परेका दुबै जनामाथि अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताए ।
