
कञ्चनपुर एमालेले पालिका कमिटीबाट लियो फागुन २१ को चुनावको रिपोर्टिङ्ग, २५ गते कार्यकर्ता भेला गर्ने जिल्ला कमिटी बैठकको निर्णय

महेन्द्रनगर । एमाले कञ्चनपुरले सबै पालिकाबाट फागुन २१ को चुनाव सम्बन्धि जानकारी लिएको छ । एमाले पार्टी कार्यालयमा सोमबार जिल्ला कमिटी बैठकमा सबै पालिका पालिकाले चुनावी रिपोर्टिङ्ग गरेका छन् ।
बैठकमा अधिकाँश पालिका अध्यक्षले रिपोर्टिङ्ग गरे । पालिका कमिटी अध्यक्ष सहभागी नभएका पालिकाका प्रतिनिधिले जानकारी गराए ।

बैठकमा सहभागी नेताहरुका अनुसार पालिकाले फागुन २१ गते चुनाव परिचालन र त्यसपछि नतिजा सम्बन्धि आफ्नो क्षेत्रको अवस्था जानकारी गराएका छन् ।
भदौ २३ र २४ गतेको जेन जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थिति, सामाजिक सञ्जाल प्रयोगमा प्रभावकारी उपस्थिति हुन नसकेको लगायतका कारणले पार्टी पराजित हुन पुगेको पालिका नेतृत्वले बैठकमा जानकारी गराए ।

एमाले कञ्चनपुरका उपाध्यक्ष एबम् प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बैठकमा फागुन २१ गतेको चुनावी समीक्षा गरिएको बताए ।
‘आजको बैठक फागुन २१ गतको चुनावी समीक्षामा केन्द्रित भयो,त्यसमा पालिकाबाट तर्फबाट चुनाव सम्बन्धि रिपोर्टिङ्ग आएको छ’ उनले भने ।
पालिकाबाट रिपोर्टिङ्गपछि जिल्ला कमिटीले कमिटीगत आधरमा समीक्षा गर्ने र त्यसपछि रिपोर्ट बनाएर प्रदेश कमिटीमा पठाइने निर्णय गरिएको छ ।
बैठकले चैत २५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै जिल्लाभरका कार्यकर्ताको भेला गर्ने निर्णय गरेको छ ।
एमाले सुदूरपश्चिम अध्यक्ष कृष्ण जैसी, कञ्चनपुर इन्चार्ज निरुदेबी पाल, एमाले केन्द्रीय लेखा आयोग सचिव ईश्वरी प्रसाद खरेल, एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढा, कञ्चनपुर १ का एमाले उम्मेदवार तारालामा तामाङ्ग लगायत सहभागी भएका छन् ।
