

महेन्द्रनगर । कञ्चनपुर जिल्लाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
सोमबार (२०८३÷०१÷०६ गते) लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका–५, खजुवाबाट एक जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–२ बस्ने सुवाश पाण्डे रहेका छन् । संका लागेर चेकजाँच गर्ने क्रममा पाण्डेको साथबाट लुकाई छिपाई राखिएको अवस्थामा शुद्ध तौल ४९.३३० ग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सोही दिन इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१०, दर्सिखल्लाबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६, ओझाखाली बस्ने ईश्वर डगौरा र सोही मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–५, बिचफाँटा बस्ने आकाश डगौरा रहेका छन् । प्रदेश ०२–००३ प २३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट १०.५२० ग्राम खैरो हिरोइन फेला परेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
