

महेन्द्रनगर । बेदकोट नगरपालिका ५ पोलखरीमा स्थानीयले ९ वर्षिय बालकको हात खुट्टा बाँधेर कुटपिट गरेका छन् ।
पोलखरीस्थित मामा घरमा बस्दै आएका तपेन्द्र भण्डारीलाई ३८ वर्षीय भोज नाथले आफ्नो बारीमा तरबुजा चोर्न पसेको आशंकामा हात खुट्टा बाँधेर कुटपिट गरेका हुन् ।
नाथले हात खुट्टा बाँधेर कुटपिट गरेको भिडियो भाइरल भएको छ । भिडिओमा उनले अक्रोश पोख्दै बालकलाई मारेर आफू जेल जाने भन्दै कराएको सुनिन्छ ।

बालकमाथि बुधबार कुटपिट गरिएको हो । स्थानीयका अनुसार बुधबार पोल्खरीस्थित चौधर नदीको तटीय क्षेत्रमा क्रिकेट खेल्ने क्रममा नाथको करेशाबारीमा बल हुत्तिएको थियो । त्यहीं बल लिन उनी खेतबारीमा जाँदा नाथले चोरीको आशंकामा दुबै हात खुट्टा बाँधेर कुटपिट गरेका हुन् ।
बालकको हातखुट्टा बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। उक्त भिडियोमा नाथले ‘यसलाई मार्छु बरु जेल जान्छु’ भन्दै धम्की दिएका सुनिन्छ।
आमाबाबु भारतमा रहेकाले बालकको हेरचाह मामाघरकी बज्यैले गर्दै आएकी छिन्। भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले बालकमाथि कुटपिट गर्ने भोज नाथविरुद्ध ज्यान कसुरमा मुद्दा अघि बढाएकोे जानकारी दिए। उनले घट्नामा संलग्न सबैमाथि कानुनी कारबाही हुने बताए।
