

महेन्द्रनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा लालझाडी गाउँपालिका, रोजगार सेवा केन्द्रको आयोजनामा विभिन्न सरोकारवाला निकायमा संलग्न श्रमिकहरूसँग उनीहरूको श्रमप्रति सम्मान प्रकट गर्दै अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रम उद्घाटन लालझाडी गाउँपालिका अध्यक्ष निर्मला रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की लगायत विभिन्न वडाका वडा अध्यक्ष गरी ४५ जना सहभागी भएका छन् ।
कार्यक्रमको सुरुवात श्रमिक दिवसको अवसरमा आयोजित प्रभातफेरीबाट गरिएको थियो । त्यसपश्चात गाउँपालिकाको सभा हलमा औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले आ–आफ्नो परिचय दिँदै कार्यस्थलमा भोगेका समस्या, चुनौती तथा सम्भावित समाधानका उपायहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रमका क्रममा रोजगार सेवा केन्द्रका प्रमुख केशव दत्त पन्तले श्रमिक हक–हित, सम्बन्धित कानुन, नीति तथा नियम, विश्व परिवेश र नेपालको वर्तमान अवस्था, साथै गाउँपालिकाबाट श्रमिक क्षेत्रमा प्रवाह भइरहेका सेवाहरू सम्बन्धी विस्तृत कार्यपत्र प्रस्तुति गरे ।

अन्तरक्रियामा श्रम सुरक्षा, श्रमिकको हक अधिकार, कार्यस्थलमा हुने विभेद, बालश्रम, तथा कार्यस्थलमा हुने लाञ्छना जस्ता महत्वपूर्ण विषयहरूमा गहन छलफल गरिएको छ ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले आ–आफ्ना धारणा तथा सुझावहरू राख्नुभएको थियो। यसै क्रममा वडा नं. २ का अध्यक्ष आशाराम रानाले कार्यस्थलमा हुने दुर्घटना तथा बालश्रमका विषयमा महत्वपूर्ण मन्तव्य व्यक्त गरे ।
गाउँँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर साकीले नेपालको संविधानले सुनिश्चित गरेका श्रमिक हक अधिकारबारे प्रकाश पार्दै यस क्षेत्रमा सुधारका लागि आगामी दिनमा गाउँपालिकाले थप प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम समापन गर्दै गाउँपालिका अध्यक्ष रानाले श्रमिक हक अधिकार, श्रम, रोजगारी, सीप विकास तथा उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा गाउँपालिकाले प्राथमिकता दिने बताए ।
उनले श्रमिकको सम्मान केवल एक दिनमा सीमित नरही निरन्तर रूपमा कायम रहने विश्वास व्यक्त गर्दै श्रमिक, मजदुर तथा किसानहरूको हक–हित संरक्षण र सेवा–सुविधा सुनिश्चित गर्न गाउँपालिका सधैं प्रतिबद्ध रहने धारणा राखे ।
यसरी श्रमिकहरूको सम्मान, अधिकार सुनिश्चितता र श्रममैत्री वातावरण निर्माण गर्ने उद्देश्य सहित आयोजना गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
