

महेन्द्रनगर । टिकटक स्टार अंशु ब्रह्मा सन् २०२२ देखि शैक्षिक व्यवसाय सञ्चालन गर्न चाहन्थे । भीमदत्त नगरपालिका ११ गड्डाचौकीका ब्रह्मालाई सानैदेखि शैक्षिक व्यवसाय गर्ने रुची थियो ।
तीन वर्षपछि ब्रह्माले आफू रुची पुरा गरेका छन्, भीमदत्त नगरपालिका ६ ऐंठपुरस्थित गोल्डन ब्रिड पब्लिक स्कुल खोलेर ।
यस शैक्षिक सत्रदेखि ब्रह्माले नर्सरीदेखि कक्षा ७ सम्म स्कुल सञ्चालनमा ल्याएका हुन् । हालसम्म विद्यालयमा दुई सय विद्यार्थी भर्ना भएका छन् ।
विद्यालयलाई माध्यमिक तह अर्थात कक्षा १२ सम्म सञ्चालन गर्ने ब्रह्माको लक्ष्य छ । ‘सामाजिक कार्य गरौ भन्ने मेरो लक्ष्य हो, त्यहीं अन्र्तगत यो मेरो ड्रिम नै हो, म २०२२ देखि नै स्कुल चलाउन चाहन्थे, यस वर्षदेखि सञ्चालन गर्न पाए, अहिले नर्सरीदेखि ७ कक्षासम्म सञ्चालन छ, यसलाई १२ कक्षासम्म सञ्चालन गर्ने सोच छ’ उनले भने ।
विद्यालयमा हाल भर्ना भएकामध्ये विद्यार्थीमध्ये चार जनाले निःशुल्क पढन् लागेका छन् । उनीहरु अनाथ र कमजोर आर्थिक अवस्था भएका परिवारका बाल बालिका हुन् । ती बालबालिका निःशुल्क अध्ययन गर्ने छन् ।
कमजोर आर्थिक अवस्थाले विद्यालय पढ्न नसक्ने अवस्थाका बालबालिकालाई निःशुल्क पढाइने ब्रह्माले बताए ।

विद्यालय ब्रह्माले एकल लगानीमा सञ्चालन गरेका हुन् । यस अघि यो विद्यालय सन्त टेरेसा नामबाट सञ्चालनमा थियो । ‘पैसाका कारण पढ्न सक्दैनौ भन्ने सबै बालबालिकालाई निःशुल्क पढाउँछौ’ उनले भने ।
२५ वर्षका ब्रह्मा आफ्नै पनि विद्यार्थी हुन् । अविवाहित उनी काठमाडौंको चक्रवति ल क्याम्पसमा बीएलएलबी चौथो वर्षमा अध्ययनरत छन् ।
गड्डाचौकीस्थित डायमण्ड पब्लिक एकेडेमीमा नर्सरदिेखि १० सम्म पढेका उनले बाल जागृति कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका हुन् ।
कोरोना महामारीदेखि टिकटक चलाउन थालेका उनी अहिले टिकटक स्टारले परिचित छन् ।
ब्रह्माले टिकटक चलाउन थालेको ६ वर्ष भयो । छोटो समयमा उनी टिकटकबाट परिचित भएर स्टारका रुपमा पहिचान बनाउन सफल भएका छन् ।
ब्रह्मा टिकटक अधिकाँश समय लाइभ बस्ने गर्छन् । टिकटकको आम्दानीबाट ब्रह्माले महेन्द्रनगर बजारको क्याम्पस रोडमा घर किनेका छन् ।
ब्रह्माले टिकटकमा पहिचानसंगै विभिन्न व्यवसाय सञ्चालन गरेका छन् । विद्यालय उनको नयाँ व्यवसाय हो । काठमाडौंमा ब्रह्माका दुई चिया बगान छन् । यस बाहेक ब्रह्मा नोट बुक, स्टेशनरी, एपि इन्स्टिच्युट छन् ।
चिया बगान किर्तिपुर र टोखामा छन् । र स्टेशनरी र इन्स्टिच्युट किर्तिपुरमा खोलिएका छन् । ब्रह्मा सूर्यदेब नारायणका नाति हुन् । स्वर्गिय ब्रह्मा महेन्द्रनगर बजार गुरु योजना बनाउने टीमका सदस्य हुन् ।
ब्रह्माकी दिदी छन् । उनी अहिले विद्यालयमा प्रिन्सिपल छन् । ब्रह्मा सानैदेखि नाचगानका सौखिन थिए । उनी सानैमा विभिन्न मेला महोत्सवमा गइ रहन्थे ।
