
सुुदूरपश्चिमका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता


महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध अन्ततः अविश्वास प्रस्ताव दर्ता भएको छ । लामो समयदेखि शाहको राजीनामा माग्दै आएका उनकै पार्टीका प्रदेशसभा सदस्यहरूले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
कांग्रेस सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवानसिंह बिष्टका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेसका १८ सांसदमध्ये नौ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

कांग्रेस सांसद प्रकाशबहादुर देउवा भने लामो समयदेखि नेपालबाहिर रहेका कारण हस्ताक्षर प्रक्रियामा सहभागी नभएको बताइएको छ ।
मुख्यमन्त्री शाहविरुद्धको अविश्वास प्रस्ताव दर्ता गर्न ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बैठक बसेको थियो ।
प्रस्तावमा दिवानसिंह बिष्ट, मानबहादुर रावल, प्रमुख सचेतक गीता चौधरी, प्रदेशसभा सदस्यहरू तुलसी देवकोटा, डम्मरी महरा, पदमबहादुर शाही, बेलबहादुर राना मगर, ललिता सुनार र जुनाकुमारी दानीको हस्ताक्षर रहेको छ ।
सांसदहरूले जेठ ८ गतेदेखि नै शाहविरुद्ध हस्ताक्षर संकलन सुरु गरेका थिए। आवश्यक संख्या पुगेपछि अविश्वास प्रस्ताव औपचारिक रूपमा दर्ता गरिएको हो ।
