
बर्खा नलाग्दै खल्ला मुसेट्टीमा मडारियो चिन्ताको बादल
बासिन्दा भन्छन्– बाटो बन्द, लाइट बन्द, सब बर्बाद हुन्छ


महेन्द्रनगर । ‘बाटो बन्द हुने हो, लाइट बन्द हुने हो, सब बर्बाद हुने हो, गाड आएर पोल खोलि दिन्या हो’ भीमदत्त नगरपालिका ९ सन्तनगर खल्लाका हरिदत्त जोशीले भने,‘बडो समस्यामा पर्ने वाला छौ ।’
महाकाली कोरिडोरको ट्रयाक खोज्दा बाटो पुरिएर महाकाली भँगालो भएर आवतजावत गर्दै आएका वासिन्दा बर्खा लागेपछि वस्तीमै थुनिने चिन्ताले छटपटिएका छन् ।

महाकाली नदीको भँगालोमा पानीको सतह बढेपछि आवतजावत गर्न नसकिने सथानीय बताउँछन् । कोरिडोर निर्माण भएपछि स्थानीयलाई आवतजावतका लागि खल्लादेखि कुए खल्लासम्म महाकाली नदीको भँगालोमा बाटो बनाइएको छ ।
खल्लाका स्थानीय जोशीले बर्खा लागेपछि खल्ला, टुँडिखेल र म्ुसेट्टीका वस्तीका वासिन्दाले बाटो नभएर बस्ती बाहिर जान नसकिने अवस्था आउन लागेको बताए ।
‘कोरिडोर बनेपछि हामीले हिँडले बाटो पुरिएर बन्द भयो, अहिले महाकालीको यो भँगालो भएर हिँडि रहेको छौ, बर्खा लागेपछि त्यहाँ पनि पानी आउँछ, त्यसपछि हामी बाटो नभएर कहाँबाट हिँड्छौ’ उनले भने,‘हामीसित थुनिन बाहेक अरु केही छैन ।’
महाकाली नदी किनारका खल्ला, मुसेट्टी र टुँडीखेलका वासिन्दा दैनिक उपभोग्य सामाग्री किनमेल, बालबालिकाम पठनपाठन, स्वास्थ्य उपचार र मजदुरीका लागि दैनिक ब्रह्मदेब बजार सहित महेन्द्रनगरसम्म आउने गरेका छन् ।
खल्लाका स्थानीय बृजित कठायतले बर्खा लागेर बाटो बन्द भएपछि ब्रह्मदेब जान बन्द हुने बताए ।

‘कोरिडोरमा पनि हिँड्न सकिँदैन, बाटो बन्ने कुरा छैन, बर्खामा बाटो बन्द हुन्छ’ उनले भने,‘नुन खान तेल खान रासन खान सब बन्द हुन्छ’ उनले भने,‘हाम्रो त ब्रह्मदेब जान बन्द हुन्छ ।’
स्थानीय अन्जली बोहरा बाटो बन्द भएपछि विद्यार्थी र गर्भवति महिला सबैभन्दा बढी समस्यामा पर्ने बताउँछिन् । गर्भवतीलाई समयमा अस्पताल पुगाउन नसके अकाल ज्यान जान सक्ने चिन्ता उनी चिन्ता व्यक्त गर्छिन् ।
बर्खा अगावै पुरिएको बाटोबाट माटो पन्छाउन स्थानीय वडा कार्यालयदेखि साँसदसम्म पुगेका छन् । कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिह महता, प्रमुख जिल्ला अधिकारी मदन कोइराला, भीमदत्तका मेयर पदम बोगटी लगायतलाई बाटो बनाई दिन माग राखेका छन् ।
सबैबाट हुन्छ भन्ने आश्वास पाएर आशमा बसेका उनीहरु बर्खा नजिकिन थालेपछि पीडा र आक्रोश पोख्न थालेका छन् ।
‘हामी जनता होइनौ, हाम्रो भोट मात्रै चाहिने हो, ’ स्थानीय कठायतले आक्रोश पोख्दै भने,‘हामी मान्छे हो कि नाई, गोरु हौ कि बाँदर हो कि, के हौ मान्छे होइनौ, बोट माग्न मात्रै आउने ।’
साँसददेखि सरकारी अधिकारीसम्म आश्वासन दिएर कानमा तेल हालेर सुतेको गुनासो स्थानीयले गरे ।
स्थानीयले दैनिक घरमा आएर बाटोका लागि गुनासो राख्ने गरेको भीमदत्त नगरपालिका कार्यपालिका सदस्य समेत रहेकी स्थानीय अन्जली बोहराले बताइन् ।
‘म के गरु त, बाटो छैन भनेर रात दिन साँझ बिहान आएर भन्नु हुन्छ, अब कोसित भन्नु, यहाँ आउने जति सबैलाई भनेकै छु’ उनले भनिन् ।
कोरिडोर निर्माण ठेकेदारको लापरवाहीले समस्या भएको कार्यपालिका सदस्य बोहराले बताइन् ।


भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष गगन कार्कीले कुये खल्लादेखि खल्लासम्मको आधा किलोमिटर बाटो पुरिएर महाकाली भँगालोमा बनाएको डाइभर्सन बर्खामा आवतजावत गर्न नसकिने भएकाले तीन वस्तीका वासिन्दा समस्यामा पर्ने बताए ।
वडा अध्यक्ष कार्कीका अनुसार कोरिडोर निर्माण गर्दा त्यस क्षेत्रमा आधा किलोमिटर बाटो माटोले पुरिएको छ । कोरिडोर ट्रयाक खोल्दा विद्युतका पोल समेत नदी भँगालोमा हालिएकाले बर्खामा पोल ढल्ने वा बगाउने अत्यधिक सम्भावना छ ।
वासिन्दाले बाटोका लागि वडा कार्यालय तालाबन्दी गर्ने चेतावनी दिएको वडा अध्यक्ष कार्कीले बताए ।
‘मलाई त वडा कार्यालय आएर तालाबन्दी गर्ने भनेको छ, मैले वडाको तर्फबाट ठेकेदार, मेयर, स्थानीय प्रशासनसम्म कुरा राखेको छु’ उनले भने,‘जनताले वडामा तालाबन्दी गर्ने भन्छन्, वडाले बनाउन नसक्ने कुरा छैन, मैले जनतालाई जे राम्रो लाग्छ गर्नु होस भनेको छु ।’
वडा अध्यक्ष कार्कीले बाटो नभए बर्खामा तीन वस्ती थुनिन बाहेक अर्को विकल्प केही नभएको बताए ।
‘बर्खाका लागि अरु विकल्प केही छैन, सके पटक पटक त्यहाँ जेसिजी नचलाई हुनेवाला छैन ’ उनले भने ।
निर्माणाधिन महाकाली कोरिडोरमा पनि आवतजावत गर्न सकिने अवस्था नभएको उनले बताए ।
‘अहिले पनि त्यस्तो सहज छैन, बर्खामा त झन सकिदैन, त्यहाँ चुरे क्षेत्र हो, कोमल माटो छ, भाँसिने धसिने हुन्छ, त्यसैले त्यहाँ झन सकिदैन’ उनले भने ।
ब्रह्मदेब नजिक भिमुरगिाडसम्म महाकाली कोरिडोर ट्रयाक खनिएको छ ।
दिवा शनीदेव जेभीले ब्रह्मदेवदेखि डडेल्धुरा सादनसम्म कोरिडोर निर्माण ठेक्का पाएको थियो । ब्रह्मदेबदेखि डडेल्धुरा सीमा क्षेत्रसम्म ११ किलोमिटर सडक खण्ड कोरिडोरमा परेको छ ।
निर्माण कम्पनीका सञ्चालक देबीदत्त भट्टले इन्धन मूल्य वृद्धिले निर्माण कार्य असहज भएको बताए । ‘इन्धनको भाउ बढेर अहिले निर्माण कार्य निकै समस्यामा छ’ उनले भने,‘डिजेलको भाउ धान्न नसकिने हिसाबले बढ्यो, कार्यालयसित भनि सकेका छौ’ उनले भने ।
भट्टले महाकाली भँगालोमा सारिएका पोल फेरि सडक किनार सार्न विद्युत कार्यालयलाई भुक्तानी भइ सकेको जानकारी दिए ।
ब्रह्मदेबदेखि दार्चुलाको टिङ्कसम्म व्यापारका लागि महाकाली नदी किनार भएर चार सय किलोमिटर लम्बाईको कोरिडोर बनाउन थालिएको हो । यसबाट कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका नदी किनारका बस्ती सडक सञ्जालसँग जोडन लागिएका हुन् ।
डेढ दशकअघि ब्रह्मदेब कौवानी खण्डमा निर्माण सुरु गरिए पनि इआए नभएकाले काम रोकिएको थियो ।
२०७६ मा इआए भएपछि ठेक्का भएर निर्माण कार्य अघि बढेको हो । कोरिडोर निर्माणले तीन सडकसित जोडिने आशमा छन् । तत्काल कोरिडोर ट्रयाकले बाटो पुरिएपछि भने उनीहरु चिन्तामा पिरोलिएका छन् ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले कोरिडोर संघ सरकारको आयोजना भएकाले नगरपालिकाले बाटो खोलि दिन आग्रह गरेको बताए ।
‘संघ सरकारको आयोजना हो, यसमा स्थानीय सरकारले आग्रह बाहेक अरु के गर्न सक्छ’ उनले भने,‘बाटो खोलि दिए हुन्छ, वासिन्दालाई दुःख हुन भएन ।’
