

महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको टेम्पो भीरमा खसालिएको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो । घटनाबारे अनुसन्धान अगाडि बढाउने क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीले वन कार्यालयका १० जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको जनाएको छ ।


प्रहरीका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन भिडियो, प्रत्यक्षदर्शीको भनाइ र सम्बन्धित पक्षसँग सोधपुछ भइरहेको छ ।
घटनामा गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीले व्यापारका लागि प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालेकोे आरोप लगाएकी छन् । उनले आफूले टेम्पो घर लैजाने र अब त्यहाँ व्यापार नगर्ने भन्दै आग्रह गर्दा पनि कर्मचारीले जबरजस्ती टेम्पो भीरमा खसालेको बताउँदै आएकी छिन ।
वन कार्यालयले भने वन अतिक्रमण हटाउने अभियानका क्रममा गुडाउन नमिल्ने अवस्थामा रहेको टेम्पोलाई पन्छाउन खोज्दा भिरालो भूगोल र असन्तुलनका कारण दुर्घटनावश भीरमा खसेको दाबी गरेको छ ।

