

नारायण अवस्थी
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक हुने दिनमै सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा एमाले बीच विवाद चर्किएको छ । बजेटको भागबण्डा र आयोजना व्यवस्थापनमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् बैठकसमेत अनिश्चित बनेको स्रोतहरूले बतायो ।
मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले करिब ३८ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरे पनि अहिलेसम्म काँग्रेस–एमालेबीच बजेट बाँडफाँटमा तानातान जारी रहेको बताइएको छ ।

एमालेले आफूहरूले सिफारिस गरेका योजनामा बजेट व्यवस्थापन अपेक्षाअनुसार नभएको भन्दै असन्तुष्टि जनाएको स्रोतको दाबी छ ।

आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार रातिदेखि सोमबार बिहानसम्म बजेट इन्ट्री र बजेट वक्तव्य तयारीको काम चलिरहे पनि गठबन्धनभित्रको विवादका कारण बजेट प्रस्तुतिको कार्यतालिका प्रभावित भएको छ। ५ बजे बजेट प्रस्तुत गर्ने समय तोकिएको भए पनि उक्त समय घर्किएसँगै अन्योल बढेको हो ।
बजेटमा आफ्ना माग सम्बोधन नभएको भन्दै एमालेभित्र असन्तुष्टि बढ्दै गएको बताइन्छ । त्यसकै संकेतस्वरूप आइतबार बसेको प्रदेशसभा बैठकमा एमालेका मन्त्री तथा संसदीय दलका नेता अनुपस्थित रहे ।
प्रदेशसभामा सरकारको बहुमत कमजोर रहेकाले सत्ता जोगाउने दबाब मुख्यमन्त्री शाहमाथि बढेको छ । दुई जना सांसदको समर्थन गुमे सरकार अल्पमतमा पर्ने अवस्थाका कारण काँग्रेस र एमाले दुवै पक्षका सांसद तथा नेताहरूले बजेटमा आफ्नो प्रभाव बढाउन तीव्र दबाब दिइरहेका छन् ।
साभार : दिनेश खबर

