

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा कञ्चनपुर २ का साँसद जनक सिह धामी पराजित भएका छन् । धनगढीमा भएको प्रथम अधिवेशनमा निवर्तमान सभापति प्रकाश विष्टसित धामी पराजित भएका छन् ।
निर्वाचित विष्टले ३ सय ५८ मत र प्रतिद्वन्द्वी धामीले १ सय ५४ मत प्राप्त गरेका हुन् । उनी २ सय ४ मतले हार व्यहोर्न पुगेका छन् । रास्वपामा सामूहिक नेतृत्वको नारा अघि सार्दै धामी प्रदेश अध्यक्षका उम्मेदवार भएका हुन् ।

बेल्डाँडी गाउँपालिकाका धामी फागुन २१ गतेको निर्वाचनमा कञ्चनपुर १ बाट फराकिलो मत अन्तरले प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
धामी २४ हजार ३ सय ३२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी विना मगरले ११ हजार १ सय १० मत ल्याएकी छन् । कांग्रेसका गोपी उपाध्यायले ८ हजार ४ सय ६७ र एमालेका तारा लामा तामाङले ८ हजार ४ सय ६७ मत ल्याएका छन् ।
आम निर्वाचनमा जन अनुमोदित धामीमाथि प्रदेश अधिवेशनमा पार्टी कार्यकर्ताले अविश्वास गरेका छन् । प्रथम अधिवेशनबाट प्रदेश नेतृत्व हाँक्ने अवसरबाट धामी पछि परेका छन् ।
बलियो संगठन र सामूहहिक नेतृत्वको नारा अघि सार्दै धामी प्रदेश अध्यक्षका उम्मेदवार भएका हुन् । धामीले कञ्चनपुरका अन्य दुई निर्वाचन क्षेत्रका साँसदको साथ पाएका थिए ।
धामीलाई रास्वपा केन्द्रीय सदस्य एबम् कञ्चनपुर २ का साँसद दिपक बोहरा र कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महताको साथ थियो । बोहरा र महता दुबै फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।
रास्वपा केन्द्रीय सदस्य बोहरा पार्टी सभापति लामिछानेका विश्वासिला हुन् । प्रदेश अधिवेशन निर्वाचनपछि बोहरा काठमाडौंमा फर्किएका छन् ।
बोहराले मंगलबार सामाजिक सञ्जालबाट आफू प्रदेश अधिवेशनपछि सदन पुगेको तस्बिर साझा गरेका छन् । कञ्चनपुर ३ का साँसद महता रास्वपाको संस्थापक सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् ।

प्रदेश अध्यक्षमा निर्वाचित विष्टलाई रास्वपाको कैलाली २ का साँसद केपी खनाल र ३ का साँसद जगत जोशीको समर्थन थियो । कैलाली २ का साँसद साँसद खनाल आफैं प्रदेश नेतृत्वका आकाँक्षी थिए ।
प्रदेश नेतृत्वमा सहमतिका प्रयास गरिएपछि खनाल प्रदेश अध्यक्षको आकाँक्षाबाट पछि हटेका थिए । खनालसंगै अर्का आकाँक्षी सञ्चार उद्यमी जनकराज पन्त पनि पछि हटेका थिए ।
अध्यक्षको दाबीबाट बाहिरिएपछि खनालले विष्ट र पन्तले धामीलाई साथ दिएको रास्वपाका नेताहरुले बताए ।
रास्वपाभित्र प्रदेश अध्यक्ष निर्वाचित विष्ट र प्रतिद्वन्द्वी धामी दुबै पार्टी सभापति रवि लामिछाने निकटका नेता हुन् ।
कैलालीमा धनगढीमा सोमबार रास्वपा महामन्त्री भुपदेब शाहले अधिवेशन उद्घाटन गरेका थिए । राति ९ बजेपछि निर्वाचनका लागि मतदान भएको थियो ।
अध्यक्षमा निर्वाचित विष्टले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीचको एकता मजबुत पार्ने तथा प्रदेशभर पार्टीको संगठन विस्तारलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
बैतडी पाटन पुख्र्र्यौलीका विष्ट इन्जिनियर हुन । केही समय अघि पार्टी सभापति लामिछाने विरुद्ध अभिव्यक्ति दिएको अडियो बाहिर आएपछि उनी पार्टीभित्र विवादमा तानिएका थिए ।
विष्टलाई पार्टीभित्र बदनाम गर्न र कमजोर बनाउन एआइबाट अडियो बनाएर सार्वजनिक गरिएको खुलेको थियो ।
प्रदेश अध्यक्षमा पराजित धामी पार्टीभित्र इमान्दार र बौद्धिक नेताका रुपमा परिचित छन् । हक्की, निडर र प्रष्ट वक्ता धामी विद्यार्थी जीवनबाट राजनीतिमा सक्रिय भएर आएका नेता हुन् ।
५५ वर्षका धामी शिक्षण पेशा छाडेर पूर्ण रुपमा राजनीतिमा लागेका हुन् ।

