

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ नम्बर वडा कार्यालयले बिहीबार सार्वजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षको प्रगति सार्वजनिक गरेको छ । वडा कार्यालय, भीमदत्त नगरपालिका, सुदुररपश्चिम सरकार र संघीय सरकारको बजेटमा गरिएका सबै कार्यको विवरण सार्वजनिक गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२÷०८३ मा वडा कार्यालयले स्वास्थ्य, शिक्षा, खेलकूद, लैङ्गिक समानता, सिँचाई, सडक, कल्भर्ट, उर्जा लगायत कार्यक्रम वडा बजेटबाट गरिएका छन् । यसैगरी वडामा प्रदेश सरकारबाट गरिएका विभिन्न योजनाको विवरण सार्वजनिक गरिएको छ ।

सार्वजनिक विवरण अनुसार स्वास्थ्यमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सञ्चालन, लागु औषध सम्बन्धि जनचेतना मुलक कार्यक्रम, सहरी स्वास्थ्य केन्द्र ब्रह्मदेब मर्मत सम्भार र एचआईभी सम्बन्धि कार्यक्रम गरिएको छ ।
महाकाली आधारभूत विद्यालय तुमडानीबाट मर्मत सम्भार र शैक्षिक सुधारका कार्यक्रम गरिएको छ । वडाले खेलकूदमा तेक्वान्दो खेलाडीका लागि म्याट सहित सामाग्री, बैजनाथ माविलाई शैक्षिक सामाग्री, सिद्धनाथ मावि ब्रह्मदेबका लागि खेलकूद र रिङ्गौना खेलकूद मैदानमा क्रिकेट पिच माटो भरान गरिएको छ ।
लैङ्गिक समानता तथा समावेशीकरण अन्र्तगत वडा कार्यालयले हलिया मुक्ति समाजलाई फर्निचर निर्माणमा सहयोग गरेको छ ।
वडामा सिँचाई बोरिङ्ग तथा मोटर जडानमा ३५ लाख खर्च भएको छ । राम टोल, महादुर्गे टोल, शिव टोल, सिद्धनाथ टोल, बैजनाथ नाथ टोल, निङ्गलाशैनी टोल, ब्रह्मा टोल, खल्ला र टुँडिखेलमा बोरिङ्ग तथा मोटर जडान गरिएको छ ।
महाकाली नदी किनारको मुसेट्टीमा २ लाख खर्च गरी तटबन्ध निर्माण गरिएको छ ।

यस वर्ष वडा कार्यालयभित्र अधुरा कल्भर्ट निर्माण गरिएका छन् । अधुरा कल्भर्ट निर्माणमा ९ लाख खर्च गरिएको छ । वडाका सबै टोलमा सडक ग्राभेल र पानी पिच गरिएको छ ।
सडक बत्ती जडान, सोलार मर्मत, ह्युम पाइप खरिद र जडान कार्य चालु आर्थिक वर्षमा गरिएको छ ।
वडामा सुदूरपश्चिम सरकारबाट वडाका विभिन्न सडक कालोपत्रे गरिएका छन् । संघ सरकार मातहतको सडक डिभिजन कार्यालयबाट वादी समुदायको वस्ती भएर जाने सडक कालोपत्रे गरिएको छ । सहरी विकास अन्र्तगत ब्रह्मदेब बजारमा ढल सहितको सडक कालोपत्रे सडक निर्माण गरिएको छ ।
भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरि सिह धामीको प्रमुख आतिथ्यमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष गगन कार्कीले गरे ।
कार्यक्रममा वडा अध्यक्ष कार्कीले वडा कार्यालयले नियम कानुन अनुसार कामकाज गरेको बताए । अनुदान वितरण सिफारिश, सिँचाई बोरिङ्ग वितरण गर्ने लगायतका कार्य नियम कानुन अनुसार गरिएको उल्लेख गरे ।
उनले दुई बर्षसम्म वडा सचिव नदिएर वडाका कामकाज गर्न समस्या परेको उल्लेख गर्दै सचिवका लागि दैनिक नगरपालिका कार्यालय पुगेर नगर प्रमुख र हाकिमलाई आग्रह गर्दागर्दा दुई वर्ष बितेको बताए ।
कार्यक्रमका प्रम्ुख अतिथि नगरपालिकाका प्रशासकीय अधिकृत धामीले सचिव पठाउन नसक्नु नगरपालिका कार्यालयको ठूलो कमजोरी भएको बताए । उनले आफुलाई लाज लागेको समेत बताए ।
वडा सदस्य केशव जोशीले वार्षिक प्रगति वाचन गरे । कार्यक्रममा कार्यपालिका सदस्य अन्जली बोहरा, वडा सदस्यहरु नारायण सिह महता, पशुपति सार्की, भीनपा १० का वडा सचिव गगन नाथ, ८ का वडा सचिव हरि प्रसाद मिश्रा लागयतका सहभागी भए ।
भीनपा ९ का वडा सचिव उपेन्द्र प्रसाद मिश्रले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा आर्थिक वर्ष २०७९÷०८०, २०८०÷०८१, २०८१÷०८२ को प्रगति विवरण सार्वजनिक गरिएको छ ।

