

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले फेरि दरबन्दी मिलान गर्न लागेको छ । गत बैशाखमा दरबन्दी मिलान, बिद्यालय मर्ज र डाउन साइज गरिएको थियो ।
पूर्व जिल्ला शिक्षा अधिकारी देबी दत्त भट्टको नेतृत्वमा कार्यदल गठन गरी दरबन्दी मिलान लगायतका कार्य गरिएको थियो ।
चार महिनामा फेरि दरबन्दी मिलान प्रक्रिया अघि बढाईएको हो । अहिले बिद्यालय अनुगमन (फिल्ड भिजिट) थालिएको छ ।
दरबन्दी मिलान सिफारिस कार्यदल फिल्ड भिजिटमा छ ।
भीमदत्तको सामाजिक बिकास समितिका संयोजक सुशिल भट्टको नेतृत्वमा कार्यदल छ ।
समितिमा डबल बिष्ट, निर्मला जोशी , दिवाकर जोशी सदस्य छ। शिक्षा युवा तथा खेलकूद शाखाका अधिकृत दिपेन्द्र बिष्ट समितिमा सदस्य सचिव छन् ।
यही कार्यदलले अघिल्लो दरबन्दी मिलान सिफारिस गरेको थियो ।

भीमदत्तको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले दरबन्दी मिलान निरन्तर चलि रहने बताए ।
‘यो निरन्तर चलि रहन्छ, विद्यार्थी सङ्ख्या कम देखियो त्यही भएर दरबन्दी मिलान गर्न लागिएको हो’ उनले भने, ‘फिल्ड भिजिट चली रहेको छ ।’
साउन भित्र दरबन्दी मिलान गरि सकिने शिक्षा शाखा प्रमुख जोशीले बताए ।
बैशाखको दरबन्दी मिलानम तह घटुवा गरिएका विद्यालयमा विद्यार्थी संख्या कम देखिएको बताइएको छ ।
यस अघि १ सय १८ शिक्षकको पदस्थापन गरिएको थियो । अझैसम्म एक जनको पदस्थापन गर्न सकिएको छैन ।
जानकी कन्या माध्यमिक बिद्यालयका प्रधानाध्यापक अन्जुला भट्ट पदस्थापन हुन नसकेको हो ।
उनी सरुवा विरुद्ध प्रशासकीय अदालत पुगेकी छ्न । अदालतले भट्टको सरुवा पदस्थापन कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको छ ।
माबि गणित बिषयका शिक्षक भट्टलाई जेसिज माबि राजीपुर सरुवा गरिएको थियो ।
अघिल्लो मिलानमा सात बिद्यालय समायोजन र २० बिद्यालय तह घटुवा गरिएको थियो ।
