

महेन्द्रनगर । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घट्नामा अहिलेसम्म दोषी कानुनी कारवाहीमा आउन सकेका छैनन् ।
२०७५ साउन ११ गते भीमदत्त नगरपालिका १८ उखुबारीमा शव भेटिएपछि निर्मलालाई न्यायका लागि देशव्यापी आन्दोलन चर्किएको थियो । आन्दोलनपछि निर्मला पन्त प्रकरण अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा अहिले पनि निर्मलाको मृत्यु प्रकरणको मुद्दा जारी छ । सरकारले केही महिना अघि छानबिनका लागि छानबिन समिति बनाएर अनुसन्धान गरि रहेको छ ।
पत्रकार खेम भण्डारी पन्त प्रकरणमा ३७ दिन कारागार सजाय काटेर जेलबाट बाहिर निस्केका छन् ।
भण्डारीले मानसखण्ड दैनिक पत्रिका र मानस खण्ड डटकममा निर्मला पन्त प्रकरणसंग सम्बन्धित समाचार, विचार र सम्पादकीय लेखका थिए ।
पत्रकार भण्डारीका अनुसार निर्मला प्रकरणमा एक हजार भन्दा बढी समाचार, विचार, सम्पादकीय लगायतका सामाग्री सम्प्रेषण गरिएका छन् ।
‘यस प्रकरणमा धेरै नै लेखेको छु, एक हजार बढी होलान’ शनिबार जेल मुक्त भएपछि पत्रकार सम्मेलनमा उनले भने ।
भण्डारीले निर्मला प्रकरण सम्बन्धि किताब लेख्न सोच बनाएका छन् । पत्रकार सम्मेलनमा उनले किताब लेख्ने सोच बनाएको उल्लेख गरे ।
भण्डारी अझै पन्त प्रकरणमा आफ्नो पुरानो अडान कायम राखेर दोषीलाई कानुनी दायरामा ल्याउन लागि रहने बताउँछन् ।
पन्त प्रकरणमा लेखिएका समाचार र सामाजिक सञ्जालका पोष्टले भण्डारी कागारारसम्म पुगेका हुन् । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण राज विष्टले भण्डारीले आफ्नो बेइज्जत हुने गरी समाचार विचार सम्प्रेषण गरेको भन्दै उनी विरुद्ध गाली बेइज्तत मुद्दा दायर गरेका थिए ।
जिल्ला अदालतले २०८२ जेठ १ गते विष्टको मुद्दामा भण्डारीले गाली बेइज्जत गरेको ठहर गर्दै उनलाई एक महिना कैद, १० हजार जरिवना र एक लाख क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।
उच्च अदालत दिपायल महेन्द्रनगर इजलाशले सात दिन कैद र दुई हजार जरिवना थप गरी जिल्लाको फैसला संशोधन गरेको थियो ।
उच्च अदालतको फैसलापछि भण्डारीले सर्वोच्च अदालतमा दोहोरयाई पाउमा निवेदन दिएका थिए । सर्वोच्च निवेदनमा दिएको केही दिनपछि उनलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको थियो ।
यस अघि भण्डारीलाई अदालतको अपहेलनामा एक घण्टा सजाय र एक रुपैँया सजाय गरिएको थियो ।

गाली बेइज्जत मुद्दामा कारागार चलान भएपछि भण्डारीले रकम तिरेर कैद भुक्तान गर्न पाउने सुविधाका लागि अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतले त्यहीं पुरानो सजायलाई पटके कायम गरी सुविधा दिन अस्वीकार गरेको थियो । पछि पुनरावेदनमा पनि सुविधा दिइएन ।
भण्डारीले आफूलाई ४५ दिन अगावै पक्राउ गरी पुनरावदेन गर्न पाउने हक कुण्ठित गरिएको गुनासो पत्रकार सम्मेलनमा गरे ।
कानुन व्यवसायीहरुका अनुसार फैसलाको नक्कल नलिएको भए वर्ष र लिएको भए ४५ दिनसम्म एक तह माथिको अदालतमा जान पाउने अधिकार छ ।
भण्डारीलाई ४५ दिन अघि नै पक्राउ गरिएको हो । उनले पक्राउ अघि नै सर्वोच्च अदालतमा दोहो¥याई पाउमा निवेदन भने दिई सकेका थिए ।
सर्वोच्च अदालतमा उनको निवेदनमाथि प्रक्रिया अघि बढेको छ । सर्वोच्चमा यो प्रक्रिया कहिलेसम्म चल्छ भन्ने यकिन छैन ।
सर्वोच्चको फैसलापछि उनी न्याय परिषद् जाने भएका छन् । जिल्ला र उच्च अदालतको फैसलालाई लिएर भण्डारी न्याय परिषद् जान मनस्थितिमा पुगेका छन् ।
पत्रकार सम्मेलनमा उनले न्याय परिषद् जाने जानकारी गराएका हुन् । गाली बेइज्जत मुद्दामा प्रतिवादीको धारणा वेवास्ता गरी फैसला गरिएकाले न्याय परिषद् गएर न्याय पाउने आश भण्डारीले राखेका छन् ।
भण्डारीले फैसलाको ठहर खण्डमा आफूलाई पत्रकार र पत्रकारको हैसियतमा त्यस्ता सामाग्री सम्प्रेषण गरिएको उल्लेख गरे वादी पक्षलाई छानबिन प्रक्रियामा नआएको भनेर लेखिएको जानकारी दिए ।
समाचारको विषयमा खण्डन प्रकाशित गराउन तथा प्रेस काउन्सिलमा उजुरी दिन सकिने व्यवस्था छ । यो मुद्दा प्रेस काउन्सिल पुगेको केही समयपछि अदालतमा फर्काइएको थियो ।
२०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएपछि घट्नास्थलबाटै प्रमाण नष्ट गर्न खोजिएको भन्दै स्थानीयले आन्दोलन गरेका थिए ।
पत्रकार भण्डारीले आफूले मुख्य अभियुक्तलाई संरक्षण गर्न खोजिएको भन्दै आन्दोलित स्थानीयका मागका विषयमा आधारित भएर आफूले समाचार सम्प्रेषण गरेको बताए ।
निर्मलाको शरीरमा रहेको सुरुवाल लगायतका कपडा प्रमाण सङ्कलन गर्नु अघि नै पानीले धोएर पखालिएको थियो ।
घटनास्थललाई सुरक्षित राख्न घेराबन्दी नगरेको तथा गुप्ताङ्ग पखालेर डीएनएको मुख्य प्रमाण नष्ट गरेको आरोप प्रहरीमाथि लागेको थियो ।
घटनास्थल वरपर देखिएका शङ्कास्पद व्यक्तिका पैतालाका डोब तथा निर्मलाका किताब–कापीमा रहेका औँठा छापको प्राविधिक संकलन नगरिएको गृह मन्त्रालयको छानबिन प्रतिवेदनले देखाएको थियो ।
उनले आफू ३७ दिन मात्रै नभएर ३७ बर्ष जेल बसे पनि आफ्नो अडान नछाड्ने बताए । निर्मला पन्त प्रकरणलाई गिजोल्न दिलिप बिष्टलाई फसाउन खोजिएको पत्रकार भण्डारीले बताए ।
उनले निर्मला पन्त प्रकरण दिलिप बिष्टलाई फसाउन गिजोलिएको दाबी गरे । पत्रकार सम्मेलनमा उनी झण्डै एक घण्टा बोलेका थिए ।
