

प्रभु निधि पन्त
हरेक वर्ष १२ अगस्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवस विश्व भरका युवाका सवाल, सम्भावना, अधिकार, सहभागिता र नेतृत्वलाई प्राथमिकतामा राख्दै युवालाई विकास प्रक्रियाको अर्थपूर्ण साझेदारका रूपमा स्थापित गर्ने अवसर हो । अन्तर्राष्ट्रिय युवा दिवस केवल औपचारिक रूपमा मनाउने दिवस होइन; यो युवाको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका समस्या, उपलब्ध अवसर, नेतृत्व क्षमता र राष्ट्र निर्माणमा उनीहरूको भूमिकाबारे गम्भीर छलफल गर्ने महत्वपूर्ण अवसर पनि हो ।
नेपालजस्तो युवा जनसंख्या उल्लेख्य रहेको देशका लागि युवाको भूमिका अझ महत्वपूर्ण हुन्छ । देशमा उपलब्ध युवा जनशक्तिलाई शिक्षा, सीप, रोजगारी, उद्यमशीलता, नेतृत्व र सामाजिक परिवर्तनसँग जोड्न सकियो भने यही जनसांख्यिक शक्तिलाई आर्थिक तथा सामाजिक समृद्धिको आधार बनाउन सकिन्छ । तर वेरोजगारी, वैदेशिक रोजगारीमा निर्भरता, गुणस्तरीय तथा व्यावहारिक शिक्षाको कमी, सीप र बजारबीचको असन्तुलन, अवसरको अभाव, सामाजिक दबाब र निर्णय प्रक्रियामा युवाको सीमित पहुँच जस्ता चुनौतीले युवा शक्तिको पूर्ण उपयोग हुन सकेको छैन। यिनै राष्ट्रिय चुनौतीसँगै कञ्चनपुर पछिल्लो समय लागु औषध दुव्र्यसनको समस्याबाट ग्रसित बन्दै गएको छ ।
कञ्चनपुर भौगोलिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले सम्भावनायुक्त जिल्ला हो । महाकाली नदी, शुक्लाफाँटा राष्टिय निकुन्ज सीमावर्ती क्षेत्र, कृषि, पर्यटन, व्यापार तथा प्राकृतिक स्रोतका कारण जिल्लामा विकासका अनेक सम्भावना छन् । कञ्चनपुरको ठूलो युवा जनसंख्या जिल्लाको विकासका लागि महत्वपूर्ण मानव पूँजी हो । कृषि, पर्यटन, व्यापार, सूचना प्रविधि, खेलकुद, उद्यमशिलता, वातावरण संरक्षण तथा सामाजिक क्षेत्रमा युवाले महत्वपूर्ण योगदान गर्न सक्छन् । तर यही युवा शक्ति सामु बेरोजगारी, वैदेशिक रोजगारीमा निर्भरता, सीप र रोजगारी बीचको दूरी, पारिवारिक तथा सामाजिक दबाबसँगै लागु औषध दुव्र्यसनजस्ता चुनौती थपिँदै गएका छन् । त्यसैले कञ्चनपुरको युवा विकासलाई केवल रोजगारीको विषयमा सीमित नगरी स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, नेतृत्व, मानसिक स्वास्थ्य र लागु औषध दुव्र्यसन नियन्त्रणसँग जोडेर हेर्नु पर्ने अवस्था आएको छ ।
कञ्चनपुरमा लागु औषधको प्रयोग तथा अवैध कारोबारको विषय अहिले गम्भीर सामाजिक चिन्ताको विषय बनेको छ। जिल्लाका विभिन्न समुदायमा विशेषगरी किशोर तथा युवा उमेर समूहलाई लागु औषध दुव्र्यसनको जोखिमबाट जोगाउनु ठुलो चुनौतीका रूपमा देखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सार्वजनिक हुने दैनिक सूचनाहरूमा समेत लागुऔषध कारोबार तथा प्रयोगसँग सम्बन्धित पक्राउका घटनाहरू सार्वजनिक भइरहेका छन् । यसले समस्या नियन्त्रण र रोकथामका लागि अझ प्रभावकारी तथा समन्वित प्रयासको आवश्यकता देखाउँछ ।
तर यहाँ एउटा महत्वपूर्ण कुरा बुझ्न आवश्यक छ । लागु औषध दुव्र्यसनको समस्या केवल प्रहरीको समस्या मात्र
होइन । यो हामी सबैको साझा सरोकारको सामाजिक समस्या हो । कञ्चनपुर भारतसँग जोडिएको सीमावर्ती जिल्ला भएकाले अवैध लागु औषधको ओसारपसार तथा नियन्त्रणका दृष्टिले पनि संवेदनशील छ । खुला सीमाबाट हुने आवतजावत, अवैध ओसारपसार र नशालु पदार्थको सम्भावित पहुँचका कारण निगरानी तथा नियन्त्रण थप चुनौतीपूर्ण बन्दै गइ रहेको छ ।
कुनै युवा जव लागु औषध दुव्र्यसनको प्रयोगमा फस्छ । त्यसको असर उसको व्यक्तिगत जीवनमा मात्र सीमित रहँदैन । उसको पढाइ रोजगारी,परिवारसँगको सम्बन्ध ,माजिक प्रतिष्ठा असर पर्न सक्छ र कतिपय अवस्थामा उसको अपराध तथा हिंसासँग समेत सम्बन्ध जोडिन सक्छ । जुन उमेरमा युवाले ज्ञान र सीप हासिल गर्नु पर्ने, आफ्नो करियर निर्माण गर्नु पर्ने, परिवारलाई सहयोग गर्नु पर्ने, उद्यम गर्नु पर्ने र समाजको नेतृत्व गर्नु पर्ने हो, त्यही उमेरमा दुव्र्यसनमा फस्नु व्यक्ति, परिवार र समाजका लागि ठूलो क्षति हो । त्यसैले लागु औषध नियन्त्रणलाई केवल कानुनी वा सुरक्षा विषयका रूपमा होइन, मानव विकास र सामाजिक रूपान्तरणको विषयका रूपमा पनि हेर्नु पर्छ ।
आजभोलि युवा किन दुव्र्यसनतर्फ आकर्षित भैरहेका छन त भन्ने सवालमा लागु औषध प्रयोगको पछाडि एउटै कारण हुँदैन । पारिवारिक वातावरण, साथीहरूको दबाब, बेरोजगारी, निराशा, तनाव, जिज्ञासा, सामाजिक प्रभाव, गलत संगत र नशालु पदार्थको पहुँच लगायत विभिन्न कारणले युवा दुव्र्यसनतर्फ आकर्षित हुन सक्छन् । कतिपय किशोर–किशोरीले “एकपटक मात्र प्रयोग गर्छु” भन्ने सोचबाट सुरुवात गर्न सक्छन् । तर निरन्तर प्रयोगले निर्भरता सिर्जना गर्न सक्छ र विस्तारै उनीहरूको व्यवहार, सोच र जीवनशैलीमा परिवर्तन आउन सक्छ ।साथीको दबाब पनि महत्वपूर्ण कारण बन्न सक्छ। अरू साथीले प्रयोग गरेको देखेर त्यसलाई आधुनिकता, साहस वा मनोरञ्जनका रूपमा बुझ्ने जोखिम हुन्छ।यसकारण परिवार, विद्यालय र समुदायले किशोर तथा युवासँग समयमै संवाद गर्न आवश्यक छ ।

लागु औषध नियन्त्रणको चर्चा गर्दा जिल्ला सदरमुकाम महेन्द्रनगरमा मात्र केन्द्रित हुनु पर्याप्त हुँदैन । कञ्चनपुरका भीमदत्त, दोधारा चाँदनी,बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी, बेलडाँडी र लालझाडीलगायत सबै स्थानीय तहमा युवाहरु लागुऔषधदुव्र्यसनको लतमा फसी रहेका छन । जिल्ला भरि अवस्था भयाभव बन्दै गैरहेको छ ।
युवाहरुलाइ लागुऔषध दुव्र्यसनको लतबाट जोगाउनको लागि विद्यालय तथा समुदायमा नियमित सचेतना, परामर्श, खेलकुद, युवा क्लब, सीप विकास तथा रोजगारीसँग जोडिएका कार्यक्रम विस्तार गर्न आवश्यक छ । विशेषगरी विद्यालय छोडेकाबेरोजगारपारिवारिक समस्यामा रहेका वा सामाजिक रूपमा अलगिएका युवाको अवस्था पहिचान गरी समयमै सहयोग पुर्यारउनु पर्छ । युवालाई लागुऔषध प्रयोग नगर भनेर खवरदारी गर्नु अति आवश्यक छ । तर खवरदारी चेतावनी ले मात्र पर्याप्त हुने वाला छैन ,उनीहरुलाई उनीहरुमा भएको सीप,क्षमता अनुसारको खेलकुद तथा सिर्जनात्मक गतिविधि मा संलग्न हुने अवसर र वातावरण पनि दिनु पर्छ ।
युवा नीति केवल “लागुऔषध नियन्त्रण”मा केन्द्रित भएर पुग्दैन । उनीहरुलाई कञ्चनपुरमा कृषि, पर्यटन, व्यापार, सीमावर्ती बजार, सूचना प्रविधि, खेलकुद, साना तथा मझौला उद्यम, पशुपालन, माछापालन, कृषि प्रशोधन, होमस्टे तथा विभिन्न सेवा क्षेत्रमा युवाका लागि सम्भावना सिर्जना गर्नु पर्छ । लागुऔषध दुव्र्यसनको रोकथाम को पहिलो आधार भनेको आधार परिवार हो । अभिभावकले छोराछोरीलाई केवल पढाइ र परीक्षाको बारेमा सोध्ने होइन, उनीहरूको साथी, भावना, तनाव, समस्या र दैनिक जीवनबारे पनि खुलेर कुराकानी गर्नुपर्छ । तँ के गर्दैछस्भनेर शंका गर्नेभन्दातिमीलाई कुनै समस्या छ भने मसँग कुरा गर्न सक्छौभन्ने वातावरण निर्माण गर्नु आजको महत्वपूर्णकाम हो । आफ्ना छोराछोरीवा युवाको व्यवहारमा अचानक ठूलो परिवर्तन आएमागाली र दण्डभन्दा पहिले संवाद गर्नु पर्छ । आवश्यक परे स्वास्थ्यकर्मी, मनोसामाजिक परामर्शदाता वा सम्बन्धित विशेषज्ञको सहयोग लिने जस्ता कार्य गर्नु पर्दछ ।
विद्यालय र कलेजहरुले पनि वर्षमा एकपटक “लागुऔषध सेवन नगरौँ” भन्ने कार्यक्रम गरेर मात्र जिम्मेवारी पूरा हुँदैन ।
विद्यालयमा नियमित रूपमा जीवनोपयोगी सीपसम्बन्धी शिक्षामानसिक स्वास्थ्य तथा तनाव व्यवस्थाप,लागु औषधको वास्तविक असरबारे वैज्ञानिक जानकारी,साथीको दबाब सामना गर्ने क्षमता,परामर्श सेवा,खेलकुद तथा सिर्जनात्मक गतिविधि,युवा क्लब तथा स्वयंसेवी कार्यक्रमसञ्चालन गर्न आवश्यक छ।युवालाई खाली समय नदिने होइन, खाली समयलाई सकारात्मक अवसरमा बदल्ने वातावरण निर्माण गर्नु पर्छ ।
स्थानीय सरकार र समुदायले पनि लागुऔषध नियन्त्रण का लागि वडा, विद्यालय, स्वास्थ्य संस्था, प्रहरी, युवा क्लब, महिला समूह, अभिभावक, सामाजिक संस्था र नागरिक समाजबीच प्रभावकारी समन्वय गरि प्रत्येक वडा तहसम्म युवा जोखिम पहिचान र रोकथामका कार्यक्रम सञ्चालन गर्न आवश्क छ । प्रत्येक स्थानीय तहमाः युवा परामर्श तथा referral प्रणाली, विद्यालय स्तरीय लागु औषध रोकथाम कार्यक्रम,युवा क्लब सुदृढीकरण,खेलकुद तथा सिर्जनात्मक कार्यक्रम,सीप विकास तथा रोजगारीसँग जोडिने कार्यक्रम,अभिभावक सचेतना,पुनःस्थापित युवाको सामाजिक पुनःएकीकरण,प्रहरी, स्वास्थ्य संस्था र समुदायबीच समन्वय,जस्ता कार्यक्रमलाई प्राथमिकता मा राख्नु अति आवश्क छ ।
लागु औषध रोकथाम का लागि अबको प्राथमिकता भनेको तीनवटा कामलाई एकैसाथ अघि बढाउनु पर्ने हुन्छ । पहिलो भनेको लागुऔषधको अवैध कारोबार तथा पहुँच नियन्त्रण गर्न सुरक्षा निकाय, स्थानीय सरकार र समुदायबीच समन्वय बलियो बनाउनु पर्छ । दोस्रो भनेको उपचार र पुनःस्थापना दुव्र्यसनमा परेका युवालाई उपचार, मनोसामाजिक परामर्श, पुनःस्थापना र सामाजिक पुनःएकीकरणको अवसर उपलब्ध गराउनु पर्छ । तेस्रो भनेको युवा दुव्र्यसनमा पर्नुअघि नै शिक्षा, सीप, रोजगारी, खेलकुद, उद्यमशीलता, सिर्जनात्मकता र नेतृत्वका अवसर उपलब्ध गराउनु पर्छ । यी तीनमध्ये कुनै एउटा पक्ष मात्र कमजोर भयो भने समस्या दीर्घकालीन रूपमा समाधान गर्न कठिन हुन्छ । अब चुप लागेर बस्ने समय होइनअन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हामी युवाको नेतृत्व र अवसरको कुरा गरिरहेका छौँ। तर नेतृत्व गर्नुपर्ने युवा नै दुव्र्यसन फस्दै गए भने हाम्रो विकासको सपना अधुरो हुन्छ । त्यसैले अन्तर्राष्ट्रिय युवा दिवसलाईलागुऔषधविरुद्धको सामाजिक अभियानसँग जोड्ने अवसरका रूपमा पनि लिनु पर्छ ।
युवालाई “नशा नगर” भन्नु आवश्यक छ, तर त्यससँगै “नशाको सट्टा यो गर”भन्न सक्ने वातावरण बनाउनु आजको आवश्कता हो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कञ्चनपुरले एउटा स्पष्ट संकल्प गर्नुपर्छहाम्रो युवा नशामा होइन, नेतृत्वमा, निराशामा होइन, सिर्जनामा,बेरोजगारीमा होइन, उद्यममा ,पलायनमा होइन, अवसर निर्माणमा जोडिनुपर्छ।सक्षम युवा, स्वस्थ समाज र समृद्ध कञ्चनपुरहाम्रो साझा संकल्प ।
सबै को जय होस् । धन्यवाद
(लेखक अधिकारकर्मी हुन् ।)
