

महेन्द्रनगर । बेदकोट नगरपालिका ३ स्थित बेदकोट सामुदायिक वनले सोमबार बिहान सामुदायिक वन दिवसको अवसरमा राखेको बृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख डिभिजन वन अधिकृत लक्ष्मी जोशीले वन संरक्षणमा सामुदायिक वनले पुगाएको योगदानको प्रशंसा गरे ।
बढ्दो वन बिनास रोक्न र मरुभूमिकरण हुनबाट सामुदायिक वनको अवधारणा सुरु गरिएको उल्लेख गर्दै उनले वन संरक्षण, सामुदायिक विकास, समावेशिता, परोपकारका कार्य गर्दै आएको बताए ।
सामुदायिक वनले सरकारका १७ ÷ १८ मन्तालयले गर्ने काम सामुदायिक वनले गर्दै आएको प्रमुख जोशीको भनाई थियो । डिभिजन प्रमुख जोशीले सार्वजनिक कार्यक्रममा गरेको प्रशङ्साले कार्यक्रममा सहभागी वनका प्रतिनिधि उत्साहित देखिएका थिए । उनीहरूले ताली बजार डिभिजन प्रमुख जोशीसित आभार व्यक्त गरे ।
कार्यक्रममा जोशी विशिष्ठ अतिथि थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा भाषण नगरी निस्किएका थिए ।
कार्यक्रममा बेदकोट नगरपालिकाको बैतोडा सामुदायिक वनका प्रतिनिधि सहभागी थिएन । बैतोडा सामुदायिक वन त्यही वडासित सीमा जोडिएको वडा न. ४ मा पर्छ । बैतोडा सामुदायिक वनलाई डिभिजन वन कार्यालयले दुई बर्षदेखि कारोबार बन्द गरी वन संरक्षणका कामकाज गर्न नसक्ने अवस्थामा पुगाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भन्दै डिभिजनले समूहको कारोबार रोक्का गरेको हो । डिभिजनले कारोबार रोक्का गरेपछि राष्ट्रिय बाणिज्य बैंकमा समूहको काठ बिक्रीको करोडौ रकम थन्किएको छ ।
बैंकमा समूहलाई रकम जम्मा गर्न पाउने र झिक्न नपाउने गरी कारोबार बन्द गरिएको छ । बैतोडा सामुदायिक वनका कार्यालय सचिव जय बहादुर बोहराले कारोबार बन्द भए पछि कामकाज गर्न सकिने अवस्था नभएको बताए ।
‘बैंक कारोबार नै बन्द छ, काठ बिक्रीको पैसा सब बैकमा छ, कामकाज गर्न सकिने अवस्था छैन, वन बिकासका सबै कार्यक्रम हुन सकेका छैन’ उनले भने, ‘रुख कटान, नर्सरी निर्माण, काम रोकिएका छ्न, काठ संकलन रकम समेत फिर्ता गर्न सकिएको छैन ।’
कार्यालय सचिव बोहराले उपभोक्तालाई २५ लाख संकलन खर्च फिर्ता गर्न बाकी भएको बताए । डिभिजन वन कार्यालय कंचनपुरका तत्कालीन प्रमुख राम बिचारी ठाकुरले कारोबार बन्द गर्न लगाएका थिए । कारोबार बन्द भएपछि डिभिजन पुगेका समूहका पदाधिकारीलाई उनले क्षेत्रीय वन निर्देशनालयको निर्देशनमा बन्द गरिएको बताएका थिए ।
कार्यकक्षमा कालोमोसो लगाएपछि ठाकुरलाई कैलाली सरुवा गरिएको थियो ।
आर्थिक बर्ष २०७८÷०७९ मा समूहले तीन करोड बढीको काठ बिक्री गर्यो । यो काठ धेरै बर्षदेखि बिक्री हुन सकेको थिएन ।
त्यसपछि डिभिजनबाट अनुमति लिएर काठ बिक्री गरियो । दुई बर्ष अघि समूहका सचिव राजुराम सार्की चेक साट्न बैक पुगेपछि कारोबार बन्द गरिएको खुलेको थियो ।
बैकमा उनलाई कारोबार बन्द भएको भएकाले झिक्न नपाइने जानकारी दिइएको थियो । केही दिनपछि डिभिजनबाट कारोबार बन्दको चिठी समूहमा पुगेको थियो ।
बैक कारोबार बन्द हुन अघि समूहका सचिव सार्की र क्षेत्रीय वन निर्देशक हेम राज बिष्टबिच आपशमा विवाद भएको थियो ।
ती दुई जनाबिच जर्मनका विद्यार्थीको वन अध्ययन बिषयलाई लिएर विवाद भएको थियो ।

सामूदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष बिर्ख बहादुर शाहीले सामुदायिक वन अध्ययनका लागि जर्मन विद्यार्थी आउन लागेकोले व्यवस्थापन गर्न सचिव सार्कीलाई जिम्मा दिएका थिए ।
सार्कीले त्यस अनुसार समूहसित छ्लफल गरी विद्यार्थी अध्ययनका लागि तयारी अघि बढाएका थिए ।
क्षेत्रीय वन निर्देशक बिष्टले आफूले जर्मन विद्यार्थीलाई अध्ययनका लागि वनमा पठाएकोले व्यवस्थापन गर्ने भन्दै वनभित्र पठाउन खोजेपछि समूहका सचिव सार्कीले रोकि दिएका थिए ।
सामुदायिक वन महासङ्घले आफूसित सल्लाह गरिएका विद्यार्थीलाई क्षेत्रीय वन निर्देशकले आफूले व्यवस्थापन गर्ने भन्दै बिचमा आएपछि बिबाद भएको सचिव सार्कीले बताए ।
समूहका सचिव सार्की र क्षेत्रीय वन निर्देशक बिष्टबिच बिबाद भएको केही दिनपछि अख्तियारमा उजुरी परेको भन्दै कारोबार बन्द गरिएको थियो ।
समूहको कारोबार बन्द भएपछि डिभिजन वन कार्यालयले सबै कारोबारका कागजात मगाएर हेरेको थियो । वनले अध्ययन पछि सबै ठिक छ भनेको समूहका पदाधिकारी बताउछ्न ।
राष्ट्रिय बाणिज्य बैंक महेन्द्रनगर शाखा प्रबन्धक कर्ण देब जोशी डिभिजन वन कार्यालयले भनेपछि खाता बन्द गरिएको बताए ।
‘वन बिभाग वा समूहले भने पछि बन्द हुन्छ, गुनासो लिएर कोही आको छैन, अफ्ट्यारो भएको मान्छे आएको छैन त’ उनले भने ।
समूहका सचिव बोहरा चेक साट्न लगेपछि फिर्ता गरि दिने गरिएको बताए ।
समूहका अध्यक्ष तोयराज अवस्थीले कारोबार बन्दभएपछि खोल्नका लागि धेरै पटक डिभिजन वन कार्यालय पुगेको बताए ।
बैतोडा सामुदायिक वनमा ९ सय घरधुरी उपभोक्ता छ्न । २०५४ मा वन समूह हस्तान्तरण गरिएको थियो । डिभिजन वन कार्यालय कंचनपुरका प्रमुख जोशी रकम हिनामिनाको उजुरी परेकाले खाता बन्द गरी कारोबार बन्द गरिएको बताए ।
वन ऐन अनुसार सामुदायिक वन उपभोक्ता समूहको खाता बन्द हुने गरेको जोशी बताउँछ्न । जोशी २०८२ पुस २८ गतेदेखि डिभिजन वनमा प्रमुख छन् । त्यस अघि सुरेशचन्द्र डिसी प्रमुख थिए ।
२०८२ मंसिरमा कार्यालय हाजिर भएका डिसीले कृष्णपुर नगरपालिकाको गैरीघाट सामुदायिक वन फडानी अनुसन्धान अघि बढाएका थिए ।
कृष्णपुर नगरपालिकाले प्राबिधिक शिक्षालय बनाउने भन्दै गैरीघाटमा दिनदहाडै वन फडानी गरिएको थियो ।
तत्कालीन प्रमुख डिसीले वन फडानी संलग्न भएको भन्दै जन प्रतिनिधिलाई समेत पक्राउ गर्ने तयारी गरेपछि उनको काज फिर्ता भएको थियो ।
डिसीको काज फिर्तापछि जोशी आएका हुन् । उनी बाजुराबाट सरुवा भएर आएका थिए ।
डिसी अघि राम बिचारी ठाकुर २०८१ कार्तिक ÷१२ गतेदेखि २०८२ भदौ ५ गतेसम्म डिभिजन प्रमुख थिए ।
