

महेन्द्रनगर । ट्राफिक चोक स्थित ट्राफिक प्रहरीको पूरानो कर्यालय भवनमा बिहीवार दिउसो गर्मीले उकुसमुकुस थियो । केही ट्राफिक प्रहरी काममा थिए । कोही ब्यारेकमा थिए । कोही त असाध्यै गर्मीमा सडकमा ड्युटी गरि रहेका थिए ।
‘गर्मी धेरै छ,दिउसो त सडकमा जान मुस्किल छ, तै पनि ड्युटी गएका नै छौ’ उनले भने, ‘म पनि राति ड्युटीमा जान्छु, सडक अनुशासन कायम राख्नु पर्छ, यो हाम्रो काम नै हो ।’
नौ महिनादेखि नाथ ट्राफिक प्रहरी इन्चार्ज छ्न । इलाका प्रहरी कार्यालय टिकापुरबाट सरुवा भएर आएपछि उनी इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका हुन् ।
ट्राफिक प्रहरीको तीन काम भएको उल्लेख गर्दै उनले आफू चाहि अपेक्षित रुपमा सन्तुष्ट हुन नसकेको बताए । ‘ट्राफिक नियम पालना गराउने, ट्राफिक नियम कानुन सम्बन्धित सचेतना फैलाउने र सडक दुर्घटनामा परेका व्यक्तिको उद्वार गर्ने कार्य ट्राफिकको कामभित्र पर्छ’ उनले भने ।
ट्राफिक इन्चार्ज नाथले ८ बर्ष अघि प्रहरी सेवा प्रवेश गरेका हुन । अहिले उनी ३२ बर्ष पुगेका छन् । प्रहरी सहायक निरीक्षक(असई) बाट सेवा प्रवेश गरेका उनी झण्डै दुई बर्षपछि प्रहरी निरीक्षक भएका हुन् ।
महेन्द्रनगरस्थित सिद्धनाथ बिज्ञान क्याम्पसमा बीएस्सी पहिलो बर्ष पढ्दा नाथले असईमा नाम निकाले । बझाङ्ग बुङ्गल नगरपालिका ५ का उनी धनगढी कैलाली मोडल कलेजबाट १२ कक्षा उत्तीर्ण गरी बिज्ञान आएका हुन् ।
बझाङ्ग बुङ्गलबाट एसएलसी गरेपछि उच्च शिक्षा अध्ययनका लागि नाथ धनगढी आएका थिए । विद्यार्थी जीवनदेखि नाथ सरकारी जागिरे खान चाहन्थे ।
नाथका बुवा शङ्कर नाथ शिक्षक छ्न । आमा दुर्गादेबी गृहिणी हुन । चार सन्तानमा उनी माइलो हुन । बुवा उनलाई बिज्ञान बिषय पढेर डाक्टर इन्जिनियर बनाउन चाहन्थे । नाथ जुनसुकै बिषय पढेर सरकारी जागिरे हुने उनको चाहना थियो ।
‘पढाई ठिकै थियो, बुवा त बिज्ञान पढेर अरु पेशामा लागेको देख्न चाहनु हुन्थ्यो, मलाई बिज्ञान पढ्न मन थिएन, जे सुकै पढेर पनि सरकारी जागिर खान्छु भन्ने मात्रै मन हुन्थ्यो’ उनले भने ।
एसएलसी पास भएपछि उनी केही समय घर छाडेर भारत पुगे । घर परिवारले रात दिन पढाईका कुरा गर्न थालेपछि भारत गएका थिए । केही महिना भारत बसेपछि घर फर्किएर पढ्नका लागि धनगढी आएका थिए ।

धनगढीबाट आइएस्सी गरेपछि नाथ बीएस्सी पढ्न महेन्द्रनगर आए । बीएस्सी पहिलो बर्षमा उनले पहिलो पटक नायव सुब्बा र असईका लागि फाराम भरे ।
नायब सुब्बामा पास हुन सकेन । प्रहरीको असइमा नाम निस्कियो । उनी त्यति बेला २२ बर्ष पुगेका थिए । प्रहरी सेवा प्रवेश भएपछि उनी २२ महिना असई भए ।
असइको तालिम सकिएपछि उनी पहिलो नियुक्ति लिएर बाजुरा जिल्ला प्रहरी कार्यालय पुगे । त्यतिबेला उद्वब भाट जिल्ला इन्चार्ज थिए ।
प्रहरी सेवामा भाट निडर र इमान्दार प्रहरी अधिकारी भनेर चिनिन्छन । भाटको कमाण्डमा २२ महिना पुगेपछि नाथले प्रहरी निरीक्षक पदमा नाम निकाले ।
उनी २०७६ मा प्रहरी निरीक्षक भएका हुन । प्रहरी निरीक्षक भएपछि उनको बाजुरा जिल्ला प्रहरी कार्यालय पोष्टिङ्ग भयो ।
बाजुरापछि नवलपरासीस्थित तालिम महाबिद्यालय, काठमाण्डौ, दार्चुला जिल्ला प्रहरी कार्यालय भएर ईलाका प्रहरी कार्यालय टिकापुर पुगेका थिए । नेपाल प्रहरीमा जनपद र प्राबिधिक गरी दुई समूह छ्न । जनपद समूहका नाथ ईलाका प्रहरी कार्यालय सरुवा भएर आएपछि कञ्चनपुर ट्राफिक इन्चार्ज भएका हुन् ।
प्रहरी प्रधान कार्यालयले जिम्मेवारी दिएर पठाउने गरेको छ । ट्राफिक इन्चार्ज भएपछि ट्राफिक व्यवस्थापन आफ्नो मुख्य काम भएको उनले बताए ।
२०५३ असार २८ गते जन्मिएका नाथका ब्याचका तीन जना प्रहरी निरीक्षक छन् । उनीहरु नेपाल प्रहरीको प्रहरी महानिरीक्षक बन्न सक्ने छन् ।
त्यस्का लागि नाथ स्टाफ कलेज परीक्षा पास गर्न पर्ने छ । बिज्ञान पढेकालाई स्टाफ कलेज सहज नहुने नाथ बताउँछन् ।
‘यो परीक्षा पास गर्न सके स्वभाबिक रुपमा माथिल्लो तहमा सेवाको अवसर पाउन सक्छु’ उनले भने ।
प्रष्ट वक्ता र हक्की स्वभावका उनी फूटबल र भलिबलका सौखिन हुन । अहिले पनि दैनिम फूटबल खेल्न मैदान जाने गरेका छन् ।
अहिले नाथले कैलालीको गोदावरी नगरपालिका मालाखेती घर बनाएका छ्न । उनका दुई सन्तान छन् । ‘अहिले सडक अनुशासन मिच्नेहरुमा जे गर्दा नि हुने छाडा मनोवृति देखिन्छ’ उनले भने ।
